अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

राप्रपा महामन्त्री पाठकद्वारा पार्टीका सबै जिम्मेवारीबाट राजीनामा


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

पाठकले आइतबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै महामन्त्रीलगायत पार्टीका सबै पद तथा पार्टी सदस्यसमेत नरहने घोषणा गरेका हुन्। उनी करिब चार वर्षदेखि राप्रपाको महामन्त्रीको जिम्मेवारीमा थिए।

पाठकले पार्टीको विचारधारा र व्यवहारबीच गम्भीर विरोधाभास रहेको आरोप लगाएका छन्। ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसरह हो’ भन्ने कठोर नारालाई पार्टीले मूलमन्त्र माने पनि त्यसअनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शिताको अभाव देखिएको उनको भनाइ छ।

उनले पार्टीको केन्द्रीय नेतृत्व तहमा स्थापनाकालदेखिकै आन्तरिक बेमेल र गुटगत स्वार्थका कारण तिक्ततापूर्ण संघर्ष झन् बढ्दै गएको बताएका छन्। यस्तो अवस्थाका कारण नयाँ पुस्ताका इमानदार, शिक्षित र सचेत युवालाई पार्टीमा आकर्षित गर्न कठिन भइरहेको उनको दाबी छ।

पाठकले आफू लगायत नयाँ जोडिएका नेताहरूले पार्टीभित्रको विद्यमान अवस्थालाई परिवर्तन गर्न सक्ने सम्भावना नदेखेको उल्लेख गरेका छन्।

‘म लगायत नयाँ जोडिएका साथीहरूले सो अवस्थामा परिवर्तन ल्याउन सक्ने कुनै सम्भावना देखिँदैन। यसमा मेरा आफ्ना कमजोरीहरू पनि होलान्,’ उनले भनेका छन्।

यद्यपि, राप्रपाका तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको निष्ठा र प्रतिबद्धता भने अतुलनीय र प्रेरणादायी रहेको उनले बताएका छन्। उनीहरूप्रति आफू सधैँ सम्मानित रहने पाठकको भनाइ छ।

पाठक राप्रपाका तत्कालीन नेता रविन्द्र मिश्रसँगै पार्टीमा प्रवेश गरेका थिए। मिश्रले भने गत निर्वाचनपछि राप्रपा परित्याग गरेका थिए।