अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीका मृतकको १३औँ पुण्यतिथिमा अध्यक्ष ओलीको श्रद्धाञ्जली र समवेदना

भोटेकोशी बाढीका मृतकको १३औँ पुण्यतिथिमा अध्यक्ष ओलीको श्रद्धाञ्जली र समवेदना


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको १३औँ पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

२०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका दाजुभाइ तथा दिदीबहिनीहरूको स्मरण गर्दै उनले असामयिक निधन भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

अध्यक्ष ओलीले भनेका छन्, ‘यस दुःखद् घडीमा, असामयिक निधन हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति म र मेरो पार्टीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

अध्यक्ष ओलीले उक्त विपत्तिले सम्पूर्ण देशलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्। साथै अझै हराइरहेका व्यक्तिहरूको सकुशल उद्धारमा सफलता मिल्ने विश्वास व्यक्त गरेका छन्। ‘यस अकल्पनीय क्षतिले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ। यस कठिन घडीमा आफ्ना प्रियजन गुमाउनुभएका शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु’, अध्यक्ष ओलीले भनेका छन् ।

शोक सन्देशमा उनले बाढीपछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका नेकपा (एमाले)का स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न सामाजिक संघसंस्था, प्रदेश तथा स्थानीय सरकार, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय समुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

अध्यक्ष ओलीले भनेका छन्, ‘यस विपत्तिको घडीमा अहोरात्र खटिएर बेपत्ताको खोजी‚ उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा अतुलनीय योगदान पुर्‍याउनुहुने नेकपा (एमाले) का स्वयम्सेवक साथिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत राज्यका अन्य निकायहरू एवं विभिन्न सामाजिक संघ-संस्थाहरू‚ प्रदेश र स्थानीय सरकार‚ स्थानीय जनसमुदाय र अन्तराष्ट्रिय समुदाय प्रति बिभिन्न प्रकारको सहयोगकालागि म हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आशागरौ हराईरहेका दाजुभाइ तथा दिदीबहिनीहरुको सकुशल उद्धारमा सफलता मिल्ने छ।’

अध्यक्ष ओलीले बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको राहत, पुनर्स्थापना र पुनर्निर्माणका बाँकी कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार तथा सम्बन्धित निकायसँग पुनः जोडदार मागसमेत गरेका छन्।

‘बाढी र पहिरोबाट प्रभावित परिवारहरूको बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन म सरकार र सम्बद्ध निकायहरूसँग पुनः जोडदार माग गर्दछु’, अध्यक्ष ओलीले भनेका छन् ।