अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने पाँच जना पक्राउ

वृद्ध दम्पतीलाई बन्धक बनाएर लुटपाट गर्ने पाँच जना पक्राउ


रामेछाप-रामेछापको खाँडादेवी गाउँपालिका-२ मझुवा नेवारटोलमा वृद्ध दम्पतीलाई बन्धक बनाएर नगद तथा गरगहना लुटपाट गर्ने घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भदौ १८ गते राति करिब १२ बजे ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छीमाया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा नकाबधारी तीन जना घरभित्र प्रवेश गरेका थिए। उनीहरूले वृद्ध दम्पतीको हात प्लास्टिकको टेपले बाँध्नुका साथै मुख थुनेर आँखामा पट्टी बाँधी ज्यान मार्ने धम्की दिँदै नियन्त्रणमा लिएका थिए। त्यसपछि घरमा रहेका नगद तथा गरगहना लुटेर फरार भएका थिए।

घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई लुटपाटमा प्रयोग गरिएका सवारीसाधन र चोरीका सामानसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछाप खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही स्थानका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर गहतराज तथा धनकुटाको बेलहारा नगरपालिका–५ का ३८ वर्षीय गुणराज विश्वकर्मा रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट नगद रकम, मोबाइल फोन, मोटरसाइकल, बैंकसम्बन्धी कागजात, सहकारीको बचत पुस्तिका, सुनजस्तो पहेँलो धातुका गरगहना, पुराना सिक्का लगायत विभिन्न सामग्री बरामद गरिएको छ। घटनामा प्रयोग भएको मोटरसाइकल तथा पहिरनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा पशुपति श्रेष्ठ नेतृत्वको समूहले खाँडादेवी गाउँपालिका–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गरेको तथा यसअघि खसी–बोका चोरीका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको क्रिमिनल रेकर्ड प्रणाली (सीआरएस) जाँच गर्दा पशुपति श्रेष्ठविरुद्ध प्रहरी वृत्त कालीमाटीमा डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको, दीर्घराज मोक्तानविरुद्ध रामेछापमा अभद्र व्यवहारको मुद्दा रहेको तथा गुणराज विश्वकर्माविरुद्ध काठमाडौंको प्रहरी वृत्त बौद्धमा जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।