झापा – अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको समन्वयमा नेपाल सरकारले मानव हात्ती द्वन्द्व न्यूनीकरणका नाममा बाहुनडाँगीदेखि कोशी टप्पुसम्म करिडर कनेक्टिभिटी निर्माण गर्ने विषयले तत् तत् भूगोलका बासिन्दा आन्दोलित बनेका छन् ।
भारतीय भूगोलबाट सयौंको संख्यामा नेपाल प्रवेश गर्ने जंगली हात्तीको वितण्डाबाट दर्जनौं मानिसको ज्यान गइसकेको, कतिपयको अंगभंग भएको तथा करोडौंको अन्नबाली, घरसहित धनमाल नष्ट गरिसकेको परिप्रेक्ष्यमा करिडर कनेक्टिभिटीको चर्चाले उनीहरुलाई आन्दोलित बन्न बाध्य बनाएको घटनाक्रमले देखाउँछ ।
झापाको बाहुनडाँगीबाट सुरु हुने मदन भण्डारी राजमार्गको आसपास हुँदै कोशीटप्पुसम्म हात्ती करिडर बनाउँदा यहाँ सयौं वर्षदेखि बसोबास रहेका बासिन्दा विस्थापित हुने स्थानीयको भय छ । चुरेक्षेत्रको ५ किलोमिटर दक्षिणसम्मलाई भारतले हात्ती करिडोर मानेको र नेपालमा पनि उतैको अभियानले निरन्तरता पाउन लागेको हुँदा लाखौं मानिसहरु यसबाट प्रत्यक्ष प्रभावित हुने अभियानको बुझाई छ ।
आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमा नेपाल सरकारले ‘कोशी करिडोर योजनाको नाममा कोशी टप्पुदेखि कञ्चनजंघासम्मको क्षेत्रलाई समेटेर जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकासमा केन्द्रित रही योजना अगाडि बढाइने छ’ उल्लेख भएको र नेपालको हात्ती संरक्षण कार्ययोजना (२०२५–२०३५)मा समेत हात्ती जैविक मार्ग व्यवस्थापनको कार्यक्रम र बजेटसमेत उल्लेख भएको कारण स्थानीय सशंकित भएका हुन् ।
अर्कोतर्फ भारतमा महानन्द–कोलाबारी करिडर मेची किनारसम्म नै रहेको र त्यही कोलाबारी क्षेत्रबाट जंगली हात्ती नेपाल प्रवेश गर्ने गरेका छन् । भारत तथा नेपालका वन अधिकारी र संरक्षणकर्मीहरुले झापामा उत्पन्न मानव हात्ती द्वन्द्व न्यूनीकरणका नाममा कोशी टप्पु आरक्षसम्मको करिडर कनेक्टिभिटीको संभाव्यता अध्ययन गरेका हुन् । उनीहरु यसलाई पर्यटनसँग जोडेर हेरिरहेका छन् तर पूर्वोतर बासिन्दाहरु जीवनसँग खेलबाड भइरहेको बुझ्दछन् ।
नेपाल सरकारकै कार्यक्रममा विद्यमान बासस्थान र जैविक मार्गको संरक्षण संरक्षित क्षेत्र भित्रका वन तथा हात्तीका अन्य बासस्थानहरूको व्यवस्थापनलाई निरन्तरता दिने र संरक्षित क्षेत्र बाहिरका सामुदायिक वनहरूको सुधार तथा व्यवस्थापन गर्ने, हात्ती आवत जावत गर्ने सामुदायिक वन र नदी किनारहरूमा वृक्षारोपण गर्ने र पानीका पोखरीहरू निर्माण गर्ने भन्ने कार्यक्रमहरुको आवरणमा कृषि भूमिमा वन क्षेत्रको विस्तार गरी हात्तीको वासस्थानमा परिणत गर्ने नियत प्रष्टै देखिन्छ ।
सरकार र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको यसै गैरजिम्मेवार कार्यको भण्डाफोर गर्न प्रभावित क्षेत्रका बासिन्दाले गत भदौ १४ गते कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान गठन गरेका छन् । झापाको मेचीनगर वडा नं. १, २, ३ र ४ मा बसोबास गर्ने जंगली हात्तीबाट प्रभावित बासिन्दाहरुको भेलाले साविक बाहुनडाँगी गाविसका अध्यक्ष नीलकण्ठ तिवारीको संयोजकत्वमा उक्त अभियान समिति गठन गरेको हो ।
अभियानमा साथ दिन उक्त प्रस्तावित करिडरले छुने मेचीनगरदेखि बराहक्षेत्र सम्मका पालिकाहरुमा समन्वय समिति गठन गर्ने क्रम सुरु गरेको छ । यसको शिलशिला बुद्धशान्तिबाट सुरु भइसकेको छ । गत भदौ १६ गते बुद्धशान्ति ५ निवासी थीरप्रसाद खतिवडाको संयोजकत्वमा समन्वय समिति गठन गरिएको हो ।
यस्ता समन्वय समितिमार्फत् हात्ती करिडर निर्माण, सो क्षेत्रको इतिहास, सभ्यता, कृषि भूमि र सुरक्षित मानव बसोबास प्रतिकूल छ भन्ने तथ्यलाई उजागर गर्ने र सरकारलाई उक्त योजना फिर्ता लिन जनदवाव सिर्जना गर्ने योजना रहेको संयोजक नीलकण्ठ तिवारीको भनाई छ ।
अभियानको कार्यलाई अनुकूल, तदारुकता र तत्परताका साथ सञ्चालन गर्न तिवारीको संयोजकत्वमा २५ सदस्सीय सचिवालय पनि गठन गरिएको यसका सदस्य निरज घिमिरेले जनाउनु भएको छ ।
विश्व वन्यजन्तु संरक्षण ऐनमा हस्ताक्षर गरेका कारण नेपाल र भारतमा जंगली हात्ती मार्न पाइँदैन । नेपालको पूर्वी सिमाना मेची नदीको केहीपूर्व भारतको महानन्दमा नै यतिबेला ४०८ वटा हात्ती संरक्षित रहेकाले तिनीहरु नै समय समयमा नेपाल प्रवेश गर्ने गरेको बताइन्छ । उक्त बाहेक बर्खायाममा सुख्खा जमिन खोज्दै भारतको आसामबाट आउने हूलका हूल जंगली हात्ती यहाँका बासिन्दाको लागि समस्याको पहाड बन्ने गरेको छ ।


प्रतिक्रिया