अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी घटनाबारे मानव अधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

जेनजी घटनाबारे मानव अधिकार आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग


काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।

आङ्देम्बेले राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने तथा अत्यधिक बल प्रयोग गर्ने र भदौ २४ गते विध्वंस मच्चाउने सबै पक्षमाथि कारबाहीका लागि सिफारिस गरिसकेको उल्लेख गरेका छन्।

‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सरकारले तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिसलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजानुपर्छ। घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ,’ आङ्देम्बेले भनेका छन्।

उनले राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने बताएका छन्। राज्यशक्तिको दुरुपयोग गर्ने तथा आन्दोलनका नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने दुवै पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ।

आङ्देम्बेले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको दाबी गरेका छन्। यद्यपि, आफूलाई जोगाउन सत्ता नेतृत्वबाटै प्रतिवेदनमा ‘कैँची चलाइएको’ हुनसक्ने आशंका गर्ने ठाउँ रहेको उनले बताएका छन्।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आङ्देम्बेले घाइतेहरूको दीर्घकालीन उपचार, पुनःस्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

जेनजी आन्दोलनको बलिदानलाई कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्तिका रूपमा प्रयोग गर्न नहुने भन्दै उनले आन्दोलनले उठाएका प्रश्नलाई राज्यको नीति, शासन र व्यवहारमै सम्बोधन गर्नुपर्ने बताएका छन्।