भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँ परिवारलाई पीडामा डुबायो। तीमध्ये एक हुन् महोत्तरीको बर्दिबास नगरपालिका–३, गौरीडाँडाका मेकानिकल इन्जिनियर शौभाग्य विष्टका परिवार। बाढी आएको दिनदेखि सम्पर्कविहीन भएका शौभाग्यको कुनै अत्तोपत्तो नलाग्दा उनका बुबाआमा र आफन्तहरू दिनरात छोराको प्रतीक्षामा छन्।
यसैबीच नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल र नेता प्रदीप ज्ञवाली विष्ट परिवारको घर पुगेर उनीहरूलाई भेटेका छन्। उनीहरूले परिवारको पीडा सुन्दै सान्त्वना व्यक्त गरेका थिए।
अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत शौभाग्य विष्ट बाढीपछि बेपत्ता भएका हुन्। बाढी आएको दिनदेखि उनको कुनै सम्पर्क हुन सकेको छैन। दिन बित्दै जाँदा आशा र चिन्ताबीच संघर्ष गरिरहेको परिवारको पीडा झन् गहिरिँदै गएको छ।
भेटका क्रममा शौभाग्यका पिता धुर्व विष्ट भावुक हुँदै छोराको अवस्थाबारे कुनै जानकारी नपाउँदा परिवार असहाय बनेको बताए। ‘बाढी आएको यति लामो समय बितिसक्यो, तर छोराको अवस्था के भयो भन्ने थाहा छैन। हामी हरेक दिन कुनै खबर आउला भनेर प्रतीक्षा गरिरहेका छौँ,’ उनले दुःख व्यक्त गरे।
परिवारले शौभाग्यको खोजीलाई प्रभावकारी बनाउन सरकारको विशेष पहल आवश्यक रहेको भन्दै महासचिव पोखरेलसमक्ष आग्रह गरेको थियो। छोराको अवस्था अज्ञात रहनु कुनै पनि अभिभावकका लागि असह्य पीडा भएको बताउँदै उनीहरूले खोज तथा उद्धार कार्यलाई अझ तीव्र र परिणाममुखी बनाउन माग गरे।
परिवारको व्यथा सुनेपछि एमाले महासचिव पोखरेलले शौभाग्य विष्टको खोजीका लागि सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने आश्वासन दिए। उनले भोटेकोशी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजीमा सरकारले अपेक्षित तत्परता देखाउन नसकेको भन्दै प्रश्न समेत उठाए। खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई दबाब दिने र आवश्यक पहल गर्ने उनले बताए।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा एक्कासी आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको थियो। बाढीका कारण अपर त्रिशूलीसहित विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीहरू बेपत्ता भएका थिए भने सडक, पुल, विद्युत् संरचना र स्थानीय बस्तीमा समेत व्यापक क्षति पुगेको थियो। सयौँ परिवार अझै आफ्ना आफन्तको खबरको प्रतीक्षामा छन्।
यस्तो अवस्थामा सरकारले बेपत्ता व्यक्तिहरूको खोजी तथा पहिचानलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ। प्रभावित परिवारलाई नियमित सूचना प्रवाह गर्ने, आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गरी खोज कार्यलाई तीव्र बनाउने, राहत तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने र बाढीपीडित परिवारको पुनःस्थापनाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने माग समेत उठिरहेको छ।
भोटेकोशीको बाढीले बगाएका संरचना पुनर्निर्माण र प्रभावित समुदायको जीवन सामान्य अवस्थामा फर्काउने दायित्व राज्यको भएकाले सरकारले उद्धार, राहत र पुनःस्थापनाका कामलाई अझ प्रभावकारी र संवेदनशील ढंगले अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ। अहिले विष्ट परिवारजस्तै सयौँ परिवारका आँखा अझै आफ्ना हराएका प्रियजनको खोजीमा टोलाइरहेका छन्।


प्रतिक्रिया