अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो: प्रदिप ज्ञवाली

जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो: प्रदिप ज्ञवाली


काठमाडौं- नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन्। नेता ज्ञवालीले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँगको सम्बन्ट टुटेको उनले बताएका छन् ।

 पार्टीको मधेस प्रदेशको कमिटीले आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखिकरण कार्यक्रमलाई  सम्बोधन गर्दै पूर्व उपमहासचिव समेत रहेका ज्ञवालीले पार्टी नेताहरु सरकारी र राजर्षीपनका कारण एमाले कमजोर भएको बताए । ‘एमाले जनपरिचालन गर्ने पार्टी हो, तर हाम्रो कार्यशैली सरकारी भयो। राजर्षी भयो’ ज्ञवालीले भने, ‘हाम्रो ध्यान सिडिओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो। यो कुरा आजैका मितिबाट सुधार हुन जरुरी छ।’

 नेता ज्ञवालीले फागुनको निर्वाचनमा एमालेको कमजोर नतिजा आउनुमा पार्टीको आन्तरिक एकतामा भएको गडबडी पनि मुख्य कारक भएको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह, उपसमूहको निर्माण र निर्वाचनमा एकताबद्ध भएर जान नसक्दा यो अवस्था आएको बताए। ‘गतवर्षको भदौ २३ गतेसम्म एमाले ठूलो र बलियो पार्टी थियो तर यसवर्षको भदौ २३ मा एमाले कमजोर पार्टी भएको छ’ ज्ञवालीले भने ‘यो अवस्था आउनुमा पार्टी जनताका मुद्धाबाट टाढिएको परिणाम हो। जसले गर्दा संविधान मिचिदा होस वा पार्टी नेता माथी सरकारले ज्यादती गर्दा पनि जनता सडकमा आएनन् ।’

नेता ज्ञवालीले २०७९ को निर्वाचनपछि एमालेलाई सत्ताभोगी पार्टीको रुपमा जनताले बुझेको बताए । २०७९ देखि २०८२ सम्म आउँदा चार पटक एमालेले सत्ता समिकरण बदलेको उनले बताए। ‘२०७९ देखि ०८२ सम्म एमालेले चार पटक सत्ता समिकरण बदल्यो । पहिला प्रचण्डलाई प्रधानमन्त्री बनायो। केही महिनामा नै त्यो सरकार छोड्यो । फेरी प्रचण्डलाई नै प्रधानमन्त्री मानेर सरकारमा सहभागी भयो’ ज्ञवालीले भने ‘सरकारमा भित्रिने वा बाहिरिएको कारण हामीले जनतालाई भनेनौ । आखिर प्रचण्ड सुध्रिएर हामीले सत्तामा गएका थियौं कि हामी सुध्रिएर ? यसको जवाफ अझै पनि जनताले खोजेका छन्।’ प्रचण्ड सरकारबाट हठात हटेर काँग्रेससँगको सहकार्यले त जनतामा ज्यादै नकारात्मक सन्देश गएको उनले बताए।

एमालेले जनताका समस्याको पहिचान,उठान र समाधान दिनुपर्ने ज्ञवालीको भनाइ छ। पार्टीको भेला महोत्तरीको लालगढमा जारी छ।