काठमाडौंऔरसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत बरामद भएका छन् भने अधिकांश मृतकको अझै सनाखत हुन सकेको छैन।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म १०२ शवको मात्रै सनाखत भई परिवारलाई जिम्मा लगाइएको छ। बाढीपछि अझै पाँच हजार ३२६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्तामध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली नागरिक तथा करिब ५८७ विदेशी पर्यटक रहेका छन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको छ भने ६ हजार ८२७ जना घाइतेको उपचार गरिएको छ। घाइतेमध्ये ३२७ जनाले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने नेपाली सेना र सशस्त्र प्रहरी बलमार्फत हजारौं घाइतेलाई उपचार सेवा उपलब्ध गराइएको छ।
उद्धार तथा राहत कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई अस्थायी आश्रय दिइएको छ।
उद्धार तथा राहत सामग्री ढुवानीका लागि नेपाली सेनाले एक हजार १५७ पटक, निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान गरेको प्राधिकरणले जनाएको छ। सरकारले रसुवा र नुवाकोटमा एक–एक करोड रुपैयाँ तथा धादिङमा ५० लाख रुपैयाँ राहत उपलब्ध गराएको छ। साथै प्रभावित १५ स्थानीय तहलाई कुल १३ करोड ५० लाख रुपैयाँ वितरण गरिएको छ।
प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा आवश्यक इन्धन, ग्यास तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापन गरिएको छ। विद्युत् सेवातर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६.७ प्रतिशत र धादिङका ९९.८ प्रतिशत घरधुरीमा पुनः आपूर्ति सुचारु भइसकेको छ।
बाढीबाट प्रभावित नागरिकहरूको स्वास्थ्य तथा मानसिक अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरी मनोसामाजिक परामर्श सेवा समेत सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया