काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढीपछिका होल्डिङ सेन्टरमा आश्रित महिला र बालबालिकाको सुरक्षाप्रति गम्भीर ध्यान दिन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बुधबारको आकस्मिक समयमा बोल्दै उनले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएका होल्डिङ सेन्टरहरूलाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक रहेको बताइन्।
‘भोटेकोसी उर्लिँदा पाँच जिल्ला शोकमा छन्। चार हजारभन्दा बढी नागरिक होल्डिङ सेन्टरमा आश्रित छन्। महामारीको जोखिमसमेत बढेको छ। यी सबै संकटबीच समाधान खोज्नुपर्छ,’ उनले भनिन्।
धितालले होल्डिङ सेन्टरमा अपरिचित व्यक्तिहरूसँग महिला र बालबालिकालाई सँगै राखिँदा उनीहरूको सुरक्षामाथि प्रश्न उठेको उल्लेख गरिन्। ‘महिला र बालबालिकाको सुरक्षाको चुनौती बढेको छ। उनीहरूको अस्मिता र सम्मानको संरक्षण सुनिश्चित गर्नुपर्छ। जोखिम र सम्भावित हिंसाबाट उनीहरूलाई जोगाउन आवश्यक छ,’ उनले भनिन्।
उनले महिला र बालबालिकालाई सकेसम्म आफ्नै परिवारसँग राख्ने व्यवस्था मिलाउन, पर्याप्त सुरक्षा प्रबन्ध गर्न तथा उनीहरूको संरक्षणलाई राहत व्यवस्थापनको प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन्।


प्रतिक्रिया