काठमाडौं-नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढी-पहिरोका कारण देशमा उत्पन्न राष्ट्रिय सङ्कटप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रसुवासहित विभिन्न जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षति तथा प्रभावित नागरिकले भोग्नुपरेको कठिनाइबारे सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्।
थापाले रसुवामा बाढी आएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि खोजी तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको बताइन्। पीडित परिवारबाट निरन्तर गुनासो आइरहेको उल्लेख गर्दै उनले उद्धार तथा खोजी अभियानलाई अझ प्रभावकारी र तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
‘रसुवामा बाढी आएको दुई हप्ताभन्दा बढी भइसकेको छ, तर खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन सकेको छैन। पीडित परिवारबाट लगातार गुनासो आइरहेको छ,’ उनले भनिन्।
उनले यो केवल प्राकृतिक विपत्ति मात्र नभई सयौं परिवारको जीवनसँग जोडिएको राष्ट्रिय सङ्कट भएको बताइन्। रसुवा, दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिक अझै सम्पर्कविहीन रहेको उल्लेख गर्दै प्रभावित परिवारले घरबार गुमाएर कष्टकर जीवन बिताउनुपरेको अवस्था रहेको उनले बताइन्।
थापाले सरकारलाई तत्काल राहत, सुरक्षित आवास तथा पूर्ण पुनर्स्थापनाको व्यवस्था गर्न आग्रह गरिन्। ‘सरकारको पहिलो दायित्व सत्ता टिकाउने होइन, नागरिक बचाउने हो। सङ्कटमा परेका नागरिकलाई राज्यको उपस्थिति महसुस गराउनुपर्छ,’ उनले भनिन्।
सम्पर्कविहीन नागरिकको विवरण तत्काल अद्यावधिक गरी पीडित परिवारलाई सही सूचना उपलब्ध गराउन र प्रभावित क्षेत्रमा थप जनशक्ति तथा उद्धार सामग्री परिचालन गर्न पनि उनले सरकारसँग माग गरिन्।


प्रतिक्रिया