अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङको सडक सम्पर्क १५ दिनदेखि विच्छेद, सांसद थपलियाद्वारा सरकारको ध्यानाकर्षण

धादिङको सडक सम्पर्क १५ दिनदेखि विच्छेद, सांसद थपलियाद्वारा सरकारको ध्यानाकर्षण

धादिङका नागरिक कष्टमा, सडक पुनः सञ्चालनमा सरकार असफल


काठमाडौँ-नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले धादिङको सडक सम्पर्क विच्छेद भएको १५ दिन बितिसक्दा पनि सरकारले प्रभावकारी पहल नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद थपलियाले बाढीका कारण फुर्के खोलाको पक्की पुल बगेपछि धादिङ सदरमुकामको राजधानीसँगको सम्पर्क टुटेको उल्लेख गर्दै सरकारको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरिन्।

उनले सभामुखले समेत प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिसकेको स्मरण गराउँदै समस्या समाधानका लागि सरकारबाट आवश्यक पहल नदेखिएको बताइन्। पुल नहुँदा खाद्यान्न, औषधि तथा इन्धनको आपूर्ति प्रभावित भएको र स्थानीयको जनजीवन कष्टकर बनेको उनको भनाइ थियो।

सांसद थपलियाले प्रभावित क्षेत्रमा तत्काल बेलिब्रिज निर्माण गरी आवागमन सहज बनाउन सरकारसँग माग गरिन्।

उनले विपद्को समयमा सामाजिक सञ्जालमा बाढीपीडितहरूको पीडामाथि गरिने अमानवीय टिप्पणीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिन्। बेपत्ता आफन्तको खोजीका लागि गरिएको आग्रहलाई समेत मजाक बनाउने प्रवृत्तिले समाजमा मानवीय संवेदना कमजोर बन्दै गएको संकेत गरेको उनको भनाइ थियो।

यस्तै, सांसद थपलियाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। ग्यासका लागि नागरिक घण्टौँ लाइनमा बस्न बाध्य भएको उल्लेख गर्दै उनले उद्योग मन्त्रालयको भूमिकामाथि प्रश्न उठाइन्।

विपद् व्यवस्थापन, सडक सम्पर्क पुनःस्थापना तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिका लागि सरकार तत्काल सक्रिय हुनुपर्ने सांसद थपलियाको माग थियो।