काठमाडौँ-नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामर्थ्य नियन्त्रणमा लिन जेन-जी आन्दोलनका निश्चित मानिसहरूलाई प्रयोग गर्ने खेल भएको दाबी गरेका छन्। बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन्।
आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै उनले प्रहरी प्रशासनको भूमिकामाथि प्रश्न उठाए। कारबाही नहुनुले प्रहरी समेत घटनामा संलग्न रहेको आशङ्का पैदा गरेको दाबी उनले गरे। जेन-जी प्रदर्शनका क्रममा प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारसहित प्रहरी संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताए।
जेन-जी घटनाको छानबिनका लागि गठित कार्की आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले सिंहदरबार, संसद तथा सर्वोच्च अदालत लगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखे।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसङ्ग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्न उनले गरे। प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि गम्भीर छानबिन भए कारबाहीको आधार भेटिने दाबी उनले गरे।
कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘जेन-जी आन्दोलनका क्रममा गोली चलाउने पनि तिमीहरू नै हौ, सिंहदरबार, संसद र सर्वोच्च अदालत जलाउने पनि तिमीहरू नै हौ भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ, तर यी घटनाको निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ। कार्की आयोगको रिपोर्टका आधारमा बालेनको सरकार बनेको २४ घण्टा नबित्दै बिहान ३ बजे केपी ओलीलाई गिरफ्तार गरियो, त्यसपछि रमेश लेखकलाई पनि गिरफ्तार गरियो। १३ दिनसम्म हिरासतमा राख्दा पनि उनीहरूमाथि के अभियोग लगाउन सकियो, त्यसको जवाफ सरकारले दिनुपर्छ। जेन-जी आन्दोलनका क्रममा भएका हत्या, हिंसा र आगजनीको गम्भीर छानबिन हुने हो भने बालेन, सुदन र रविसहित जिम्मेवार देखिएका सबैमाथि कानूनी कारबाही हुनुपर्छ, हामीसँग आवश्यक आधार र प्रमाणहरू सुरक्षित छन्, त्यसैले कसैलाई राजनीतिक संरक्षण दिइनु हुँदैन, प्रत्येक घटनाको एक-एक हिसाबकिताब हुनुपर्छ।’
नेता बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’ को संज्ञा दिए। विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दाबी उनले गरे। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार कार्यमा समेत सरकार असफल भएको आरोप उनले लगाए। विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको उनले प्रशंसा गरे तापनि सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको बताए।
रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको र पीडितहरूले रकम तिरेर हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा समेत अनुमति नदिइएको दाबी उनले गरे।


प्रतिक्रिया