काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले गत वर्ष भदौ २४ गते भएको आगजनीको घटनाको उद्देश्य घर–सम्पत्ति नष्ट गर्नु मात्र नभई केपी ओलीलाई नै जलाउने रहेको दाबी गरेकी छन्।
भदौ २४ गते बुधबार बालकोटस्थित ‘खरानी घर’मा आयोजित आफ्नो अनुभूति पुस्तक ‘सपनाको भग्नावशेष’ विमोचन समारोहलाई सम्बोधन गर्दै शाक्यले आफूहरू जनताको मायाका कारण जीवित रहेको बताइन्।

उनले भदौ २४ को घटनालाई स्मरण गर्दै त्यसदिन आफूहरूलाई जलाउन सफल भएको भए आज आफ्नो पहिलो पुण्यतिथि मनाइरहनुपर्ने अवस्था आउने टिप्पणी गरिन्। उक्त अभिव्यक्ति उनले सार्वजनिक कार्यक्रममा दिएको बताइएको छ।
‘खरानी ग्याङको आशय आगो लगाउने मात्र थिएन, केपी ओलीलाई जलाउने नै योजना थियो। यदि २०८२ साल भदौ २४ गते हामीलाई जलाएको भए आज कालो दिनसँगै एक वर्षको पुण्यतिथि हुन्थ्यो,’ उनले भनिन्। अझै पनि केपी ओलीमाथि विभिन्न आरोप लगाउने क्रम जारी रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
शाक्यले आफूहरू देश सेवाको भावनाका साथ कर्तव्यपथमा अघि बढिरहेको उल्लेख गर्दै अनेक आरोप र लाञ्छनाका बाबजुद पछि नहट्ने बताइन्। उनले आफूहरूले भोगेका घटनाक्रम र अनुभवहरू आफ्नो पुस्तकमा समेटिएको जानकारी दिँदै भदौ २३ गतेदेखि भएका घटनाहरू विस्तृत रूपमा उल्लेख गरिएको बताइन्।
उनले ‘खरानी ग्याङ’ भन्दै आलोचना गरेका समूहप्रति संकेत गर्दै आफूहरूलाई जति दुःख दिए पनि सहन तयार रहेको र अन्ततः त्यस्ता प्रवृत्ति आफैं पतन हुने दाबी गरिन्।






प्रतिक्रिया