काठमाडौं- नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले ग्यास अभाव, बढ्दो महँगी र बजारमा देखिएको आपूर्ति समस्यालाई लिएर सरकारको कार्यशैलीको आलोचना गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले ग्यास व्यवसायीको ‘पाता फर्काउने’ चेतावनी दिनुभन्दा सरकारले आफ्नो चेतना र कार्यशैली बदल्नुपर्ने टिप्पणी गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवलक्षित आचार्यको टिप्पणीमा लेखेका छन्, ‘अजब तेरी दुनिया, गजब तेरा खेल-चुवाकी बालमा चमेलीको तेल।’
आचार्यले जनता ग्यास नपाएर लाइनमा बस्नुपर्ने अवस्था रहेको, बजारमा महँगी र अभाव बढिरहेको तथा युवाहरू समेत दैनिक आवश्यकता पूरा गर्न कठिनाइमा परेको उल्लेख गरेका छन्। तर, सरकारका मन्त्रीहरू भने जनताका समस्या समाधान गर्नुभन्दा भाषण, उद्घाटन र ‘तमासा’मा व्यस्त रहेको आरोप उनले लगाएका छन्।
‘जनता ग्यास नपाएर लाइनमा छन्, बजारमा महँगी र अभाव छ। नवयुवाहरू चिउरा खाएर स्कुल–कलेज जान बाध्य छन्। तर सरकारका मन्त्रीहरू भने भाषण, उद्घाटन र तमासा गर्नमै व्यस्त छन्,’ आचार्यले लेखेका छन्।
आचार्यले केही समयअघि सडक निर्माणको विषयमा भौतिक पूर्वाधारमन्त्रीबाट निर्माण व्यवसायीका ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति आएको र अहिले ग्यास अभावका बेला उद्योगमन्त्रीबाट व्यवसायीका ‘पाता फर्काउने’ चेतावनी आएको भन्दै व्यंग्य गरेका छन्।
‘वाह सरकार ! समस्या समाधानको नयाँ नेपाली मोडल पो रहेछ- काम गर्न नसके खुट्टा भाँच्ने, आपूर्ति मिलाउन नसके पाता फर्काउने !’ उनले लेखेका छन्।
प्रधानमन्त्रीको चुनावअघिको ‘तीन मिनेट’ भाषणलाई समेत स्मरण गर्दै आचार्यले सरकारसँग विकासको अर्को ‘टेक्नोलोजी’का रूपमा ‘पाता फर्काउने प्रविधि’ विकास भएको कटाक्ष गरेका छन्। ‘जनता ग्यासको लाइनमा छन्, भान्सा धुवाँविहीन होइन, ग्यासविहीन छ। युवाहरू भविष्य खोज्दै भौँतारिएका छन्। तर सरकारलाई चाहिँ तमासाबाट फुर्सद छैन,’ उनले टिप्पणी गरेका छन्।
आचार्यले सरकारले व्यवसायीलाई धम्की दिनुभन्दा जनताको भान्सा, बजार र समग्र आपूर्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। ‘अब मन्त्रीज्यू, पाता फर्काउने हो कि सरकारको कार्यशैली ?’ प्रश्न गर्दै उनले जनताको समस्या समाधान गर्न आग्रह गरेका छन्।
उनले सरकारसँग जनताले भाषण नभई ग्यास, रोजगारी, सहज आपूर्ति र सुशासन खोजिरहेको उल्लेख गर्दै अन्त्यमा लेखेका छन्, ‘पाता होइन, आफ्नो चेतना र कार्यशैली फर्काऊ !’
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः
जनता ग्यास नपाएर लाइनमा छन्, बजारमा महँगी र अभाव छ। नवयुवाहरू चिउरा खाएर स्कुल–कलेज जान बाध्य छन्। तर सरकारका मन्त्रीहरू भने भाषण, उद्घाटन र तमासा गर्नमै व्यस्त छन्। जेठ-असारमा सडक भत्किँदा भौतिक पूर्वाधारमन्त्रीको समाधान थियो- ‘निर्माण व्यवसायीका खुट्टा भाँच्ने।’ आज ग्यासको अभाव भयो, उद्योगमन्त्रीको समाधान सुनियो- ‘व्यवसायीका पाता फर्काउने।’
वाह सरकार ! समस्या समाधानको नयाँ नेपाली मोडल पो रहेछ- काम गर्न नसके खुट्टा भाँच्ने, आपूर्ति मिलाउन नसके पाता फर्काउने !
प्रधानमन्त्रीको चुनावअघिको ‘तीन मिनेट’ भाषणमा पनि रुखमा बाँधेर, बाटो सुताएर, घिसारेर भए पनि काम गराउने सुनिएको थियो। अब लाग्छ, सरकारसँग विकासको अर्को ‘टेक्नोलोजी’ पनि आइसकेछ-पाता फर्काउने प्रविधि ! जनता ग्यासको लाइनमा छन्, भान्सा धुवाँविहीन होइन, ग्यासविहीन छ। युवाहरू भविष्य खोज्दै भौँतारिएका छन्। तर सरकारलाई चाहिँ तमासाबाट फुर्सद छैन। महिनौँदेखि जनता सरकारको रमिता हेरिरहेका छन्। अब मन्त्रीज्यू, पाता फर्काउने हो कि सरकारको कार्यशैली ?
कृपया जनताको पाता नफर्काऊ-
जनताको भान्सा चलाइदेऊ, बजार चलाइदेऊ, देश चलाइदेऊ !
सरकार, जनता भाषण होइन-ग्यास, रोजगारी, आपूर्ति र सुशासन खोजिरहेका छन्।
पाता होइन, आफ्नो चेतना र कार्यशैली फर्काऊ !


प्रतिक्रिया