अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्यास उद्योगीको आपत्ति: मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित

ग्यास उद्योगीको आपत्ति: मन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र अमर्यादित


काठमाडौं-नेपाल एलपी ग्यास उद्योग सङ्घले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रीबाट व्यक्त भनाइप्रति सङ्घले आपत्ति जनाएको हो। सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय भएको टिप्पणी गरेको छ।

सङ्घका अनुसार एलपी ग्यास उद्योगहरूले विगत पाँच दशकभन्दा बढी समयदेखि देशभर ग्यास आपूर्ति गर्दै आएका छन्। प्राकृतिक विपत्ति तथा अन्य कठिन परिस्थितिमा समेत स्रोत–साधन परिचालन गरी उपभोक्तालाई सेवा उपलब्ध गराउँदै आएको दाबी गर्दै सङ्घले हालको विपद्का बेला पनि ग्यास आपूर्ति तथा वितरणलाई सहज बनाउन उद्योगीहरू निरन्तर खटिरहेको जनाएको छ।

यस्तो अवस्थामा जिम्मेवार पदमा रहेका मन्त्रीबाट उद्योगीहरूमाथि दोषारोपण गर्ने शैलीमा अभिव्यक्ति आउनु दुःखद रहेको सङ्घको भनाइ छ। समस्याको समाधानका लागि एकअर्कालाई दोष दिनेभन्दा पनि तथ्य र वास्तविकताका आधारमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको सङ्घले उल्लेख गरेको छ।

सङ्घले ग्यास वितरणमा लागू गरिएको आधा सिलिन्डर (७.१ केजी) प्रणाली सुरुमा १५ दिनका लागि भनिए पनि चार महिनासम्म निरन्तरता दिइएको जनाएको छ। साथै, उक्त व्यवस्था हटाएर पुनः भरी सिलिन्डर वितरणमा फर्किन आग्रह गर्दै २०८२ चैत १६ गते नेपाल आयल निगमलाई पत्राचार गरिएको भए पनि त्यसतर्फ ध्यान नदिइएको कारण समस्या झन् जटिल बनेको दाबी गरेको छ।

ग्यास आपूर्ति व्यवस्थापनका विषयमा सम्बन्धित निकायले समयमै आवश्यक निर्णय नगर्दा उत्पन्न समस्याको जिम्मेवारी उद्योगीमाथि मात्र थोपर्न नमिल्ने सङ्घको निष्कर्ष छ। सङ्घले सरकार, नेपाल आयल निगम र सरोकारवाला पक्षहरूबीच समन्वय गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेको छ।