काठमाडौं-विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावित नागरिकको अवस्था, राहत वितरण तथा पुनःस्थापनाका विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीको विषयमा संसदमार्फत पनि आवाज उठाउने सहमति भएको बताइन्। उनले हालसम्म भएका खोज, उद्धार र राहतका कामको प्रशंसा गर्दै सुरुदेखि नै सबै पक्षबीच प्रभावकारी समन्वय भएको भए थप मानवीय क्षति रोक्न सकिने धारणा व्यक्त गरिन्।
अर्यालले प्रभावित नागरिकको धैर्यको सीमा हुने भन्दै उनीहरूको गाँस, बास र कपासको व्यवस्थाका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा विपक्षी दलहरू एकमत रहेको बताइन्। उनले बाढीपीडितको राहत, पुनःस्थापना र दैनिक जीवन सहज बनाउन आवश्यक पहल गर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिइन्।


प्रतिक्रिया