अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा

विवादित अभिव्यक्तिपछि उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा


काठमाडौं-काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् यादवले गत चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन्। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने ग्यास अभावको विषयमा दिएको अभिव्यक्तिका कारण उनी विवादमा तानिएकी थिइन्।

बुधबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले ग्यास अभावको मुख्य कारण उद्योगीहरू भएको दाबी गर्दै उद्योगीहरूको ‘पाता नकसेसम्म’ समस्या समाधान नहुने बताएकी थिइन्। उनले देशमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने र दुईवटा उद्योग भए पनि पर्याप्त हुने अभिव्यक्ति दिएकी थिइन्। साथै, उद्योगीमाथि कारबाही गर्न खोज्दा मन्त्रालयका कर्मचारीहरूले समेत सहयोग नगरेको भन्दै उनले प्रशासनिक संयन्त्रमाथि असन्तुष्टि व्यक्त गरेकी थिइन्।

मन्त्री यादवको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघसहित ग्यास उद्योगीहरूले कडा आपत्ति जनाएका थिए। उद्योगीहरूले प्रधानमन्त्री कार्यालयमा समेत ध्यानाकर्षण गराउँदै अभिव्यक्ति फिर्ता लिन र माफी माग्न आग्रह गरेका थिए। अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको थियो।

यता, काठमाडौं उपत्यकामा लामो समयदेखि ग्यास अभाव चुलिँदै गएको छ। उपभोक्ताहरू ग्यासका लागि घण्टौं लाइन बस्न बाध्य छन् भने बजारमा कालोबजारीसमेत बढेको गुनासो छ। २ हजार ६० रुपैयाँ पर्ने एलपी ग्यास केही स्थानमा ३ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको उपभोक्ताहरूको भनाइ छ।

सरकारले पर्याप्त ग्यास आयात भइरहेको दाबी गरे पनि बजारमा सहज आपूर्ति हुन सकेको छैन। भदौ १४ गतेदेखि कृष्णभिर क्षेत्रमा सडक भासिएपछि ग्यास ढुवानी प्रभावित भएको छ। वैकल्पिक मार्गबाट ग्यास भित्रिए पनि वितरण प्रभावकारी हुन नसक्दा अभाव झन् गहिरिएको छ।

नेपालमा ग्यास आयात, भण्डारण र वितरणको अधिकांश जिम्मेवारी निजी क्षेत्रका ५८ वटा ग्यास उद्योगले सम्हालिरहेका छन्। नेपाल आयल निगमको स्वामित्वमा कुनै ग्यास बोटलिङ प्लान्ट छैन भने ग्यास ढुवानीका लागि आफ्नै बुलेटसमेत छैन। यस्तो अवस्थामा बजार व्यवस्थापन र आपूर्ति सहज बनाउनुपर्ने समयमा मन्त्री यादवको अभिव्यक्ति विवादको केन्द्र बनेको थियो।

ग्यास आपूर्ति संकट, उद्योगीहरूसँग बढ्दो टकराव र विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले अन्ततः पदबाट राजीनामा दिएकी हुन्।