काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार संविधानअनुसार सञ्चालन नभएको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि चर्को आलोचना गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।
सांसद सिंहले संविधानले परिकल्पना गरेको प्रधानमन्त्रीय शासन प्रणाली व्यवहारमा कार्यान्वयन नभएको दाबी गरे। प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भए पनि सरकार सल्लाहकारहरूको प्रभावमा चलेको उनको आरोप थियो। उनले सिंहदरबार सरकार सञ्चालनको केन्द्र हुनुपर्नेमा निर्णय प्रक्रिया प्रधानमन्त्री निवास र सचिवालयमा केन्द्रित भएको टिप्पणी गरे।
उनले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिकामाथि प्रश्न उठाउँदै राज्य संयन्त्रमा हस्तक्षेप भइरहेको आरोप लगाए। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर दबाब दिएको तथा प्रहरी नेतृत्वमाथि अपमानजनक व्यवहार गरिएको दाबी गर्दै उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको पछिल्लो विवादपछि तत्काल राजीनामा हुनुपर्ने बताएका थिए।
सिंहले सरकारमाथि गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताको मर्मविपरीत काम गरिरहेको आरोप पनि लगाए। उनले प्रधानमन्त्रीलाई संविधानले दिएको अधिकार प्रयोग गर्न नसकेको र मन्त्रीमाथि कारबाही गर्नुपर्ने अवस्थामा पनि सचिवालयमार्फत हस्तक्षेप भइरहेको दाबी गरे।
मधेसी समुदायमाथि सरकारले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाउँदै सिंहले बविता पासवानको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। अस्पतालमा बस्न नपाएर बाहिरै सुत्केरी हुनुपरेको भन्दै उनले राज्यको संवेदनहीनताप्रति आक्रोश व्यक्त गरे। मधेसी समुदायको समर्थनमा सरकार बनेको उल्लेख गर्दै उनले मधेसीमाथि निरन्तर प्रहार भए सरकार टिक्न नसक्ने चेतावनी दिए।
उनले दीपककुमार साहको बर्खास्तीदेखि गौरीकुमारी यादव प्रकरणसम्मका घटनालाई मधेसीमाथि भएको प्रहारका रूपमा चित्रित गरे। बर्दिवास मेडिकल कलेज निर्माणको सपना समेत सरकारले तुहाएको आरोप लगाउँदै उनले प्रधानमन्त्रीका सल्लाहकारहरूले राज्यको स्रोत–साधन दुरुपयोग गरेको दाबी गरे।
रसुवा बाढीपछिको उद्धार तथा राहत कार्यमा ढिलाइ भएको, किसानहरूले समयमै मल नपाएको, शिक्षा र स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन कमजोर रहेको तथा न्यायालय र कर्मचारीतन्त्रसमेत अस्तव्यस्त बनेको उल्लेख गर्दै सिंहले सरकार असफलताको दिशातर्फ उन्मुख रहेको बताए।
सांसद सिंहले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारहरूको प्रभावका कारण सरकारको कार्यक्षमता कमजोर बनेको दाबी गर्दै वर्तमान सरकारलाई “तासको पत्ता” जस्तै कमजोर संरचना भएको संज्ञा दिएका छन्।


प्रतिक्रिया