अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्, अदालत र सिंहदरबारमा आगजनी गर्ने को हुन्, निष्पक्ष छानबिन हुनुपर्छ: सांसद बराल

संसद्, अदालत र सिंहदरबारमा आगजनी गर्ने को हुन्, निष्पक्ष छानबिन हुनुपर्छ: सांसद बराल


काठमाडौं-नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई सभामुखमार्फत निर्देशन दिनुपर्ने माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले युवा तथा विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई उपद्रवकारी समूहले योजनाबद्ध रूपमा अपहरण गरी हिंसा र विध्वंशमा परिणत गरेको दाबी गरे। उनले राज्यका संवेदनशील निकाय, सार्वजनिक सम्पत्ति तथा निजी प्रतिष्ठानहरूमा भएको आगजनी र क्षतिको घटनालाई सामान्य रूपमा लिन नहुने बताए।

सांसद बरालले संसद् भवन, शीतल निवास, सिंहदरबार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, सर्वोच्च अदालतसहित अन्य अदालतका भवनहरूमा भएको आगजनीबारे प्रश्न उठाउँदै दोषीको पहिचान र कानुनी कारबाही आवश्यक रहेको बताए। उनले अदालतका अभिलेख तथा प्रमाण नष्ट गरिनु, जेलमाथि हमला हुनु, कैदीबन्दी भगाइनु, निजी व्यवसायिक प्रतिष्ठान, होटल तथा बैंकहरूमा लुटपाट हुनु र राजनीतिक दलका कार्यालय तथा नेताहरूका घरमा आक्रमण हुनु गम्भीर विषय भएको उल्लेख गरे।

नेपाल प्रहरीमाथि हमला गरी हतियार लुटिएको तथा हजारौँ सरकारी र निजी सवारीसाधनमा आगजनी गरिएको घटनाले मुलुकको कानुनी शासनमाथि नै प्रश्न उठाएको उनको भनाइ थियो।

बरालले राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ को घटनालाई पूर्वयोजनाअनुसार गरिएको संगठित आपराधिक गतिविधि भनेको स्मरण गराउँदै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको ८९८ पृष्ठ लामो प्रतिवेदन सरकारसँग रहेको बताए। उनले यस्ता घटनालाई दबाएर वा बेवास्ता गरेर छोड्न नमिल्ने भन्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र राष्ट्रिय क्षतिको परिपूरणका लागि संसद् सक्रिय हुनुपर्ने धारणा राखे।

यसैबीच सांसद बरालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको राहत, उद्धार तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्न पनि सरकारसँग माग गरेका छन्।