काठमाडौं-नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्। मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलगायत कर्मचारीले उनलाई मन्त्रालयमा स्वागत गरेका थिए।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री साहले विगतमा भएका कामकारबाही र प्रगतिबारे जानकारी लिएर आफ्नो कार्ययोजना अघि बढाउने बताए।

उनले आफ्नो पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउनु रहेको बताए। ग्यासको अभाव र नागरिकलाई आवश्यकताअनुसार ग्यास उपलब्ध गराउने विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर आवश्यक कदम चाल्ने बताए।
‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ। यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ,’ उनले भने।
मन्त्री साहले निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग पनि छलफल गरेर मन्त्रालयको काम अघि बढाउने बताए। विगतमा भएका काम, प्रगति तथा बाँकी रहेका कार्ययोजनाबारे निवर्तमान मन्त्रीसँग जानकारी लिएर अघि बढ्दा काम गर्न सहज हुने उनको भनाइ थियो।
मन्त्रालय पुगेपछि मन्त्री साहले शिष्टता र श्रद्धा प्रदर्शनसमेत गरेका थिए। उनले मन्त्रालयको ढोकामा जुत्ता खोलेर कार्यकक्षमा प्रवेश गरेका थिए। कार्यकक्षमा राखिएको नेपालको राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै उनले पदभार ग्रहण गरेका हुन्।
निवर्तमान मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा नियुक्त गरिएको हो।


प्रतिक्रिया