अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद

सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद


काठमाडौं-जिल्ला अदालत काठमाडौंले सिभिल सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पूर्वसांसद एवं उद्यमी इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गर्दै विभिन्न सजाय सुनाएको छ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अभियुक्तहरूको कसुरको गम्भीरताका आधारमा कैद, जरिवाना तथा बिगो भराउने फैसला गरेको हो।

अदालतले मुख्य प्रतिवादी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ। साथै, जाहेरवालाहरूको कुल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ३९ रुपैयाँ ८२ पैसा बिगो प्रतिवादीहरूबाट दामासाही हिसाबले जाहेरवाला बचतकर्ताहरूलाई भराइदिन आदेश दिएको छ।

दोषी ठहर भएका प्रवीणप्रसाद प्रधान र केशवलाल श्रेष्ठलाई जनही ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

त्यस्तै, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर (कंसाकार), सिर्जना शाक्य (तामाङ) र लालकाजी गुरुङलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ।

दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ।

त्यस्तै, मीना गुरुङलाई ५ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना हुने अदालतले फैसला गरेको छ।

अदालतको फैसलाअनुसार दोषी ठहर भएका प्रतिवादीहरूबाट जाहेरवालाहरूको बिगो दामासाही हिसाबले असुल गरी बचतकर्ताहरूलाई भराइनेछ।