काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तथा सांसद युवराज दुलालले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी र जवाफदेही बनाउन प्रयोग हुँदै आएको इलेक्ट्रोनिक गभर्मेन्ट प्रोक्योरमेन्ट (इजिपी) प्रणाली बन्द गरिएको भन्दै सरकारको आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले २०७० सालदेखि सञ्चालनमा रहेको इजिपी प्रणाली १३ वर्षपछि बन्द गरिनु चिन्ताजनक भएको बताए। साउन, भदौ, असोज र कात्तिक महिना सरकारी निकायहरूबाट मुख्य रूपमा ठेक्कापट्टा लगाइने समय भए पनि प्रणाली बन्द हुँदा सार्वजनिक खरिद प्रक्रिया अवरुद्ध भएको उनको भनाइ थियो।
उनले इजिपी प्रणाली बन्द हुँदा केन्द्र सरकारका सयौँ कार्यालय, सातै प्रदेश सरकार तथा ७५३ वटै स्थानीय तहअन्तर्गत हुने ठेक्का प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै औषधि खरिद, स्वास्थ्य सामग्री आपूर्ति, अत्यावश्यक वस्तुको व्यवस्थापन तथा विकास निर्माणका कामसमेत प्रभावित बनेको बताए।
सांसद दुलालले प्रणाली ह्याक भएको र पुरानो कोडका कारण सञ्चालन गर्न नसकिने भन्ने बहाना बनाइ इजिपी प्रणालीलाई नै धराशायी बनाउने प्रयास भइरहेको सूचना आफूहरूले पाएको दाबी गरे। विगतमा ह्याकिङमा संलग्न बिचौलिया, कर्मचारी वा व्यवसायीको मिलेमतोमा सरकारलाई प्रभावमा पारेर प्रणाली बन्द गराइएको हुन सक्ने आशङ्का पनि उनले व्यक्त गरे।
उनले इजिपी प्रणालीमा भएको भनिएको ह्याकिङ तथा त्यससँग सम्बन्धित गतिविधिको निष्पक्ष छानबिन गरी दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।
सांसद दुलालले इजिपीको विकल्पमा नयाँ प्रणाली ल्याउने नाममा पुरानो प्रणालीलाई नै कोल्याप्स गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिँदै डिजिटल शासन र सुशासनको नारा दिएर आएको सरकार पुनः कागजी प्रक्रियामा फर्किनु ठूलो विडम्बना हुने बताए।
‘यदि सार्वजनिक खरिद प्रक्रियालाई फेरि कागजी मोडमा लगेर गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा गराउने प्रयास भयो भने त्यसले मुलुकमा चरम कुशासनको मार्ग प्रशस्त गर्नेछ,’ उनले भने।
उनले सार्वजनिक खरिद प्रक्रियालाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन इजिपी प्रणाली तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरे।


प्रतिक्रिया