काठमाडौं-काठमाडौं महानगरपालिकाले जलनमा परेका लक्षित वर्गका व्यक्तिलाई दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।
यसका लागि महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) बीच शुक्रबार सम्झौता भएको छ। महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतामा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रोहबरमा बसेका थिए।
सम्झौताअनुसार कीर्तिपुर अस्पतालमा अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा जलन उपचार सेवा उपलब्ध गराइनेछ। यस्तै काठमाडौं महानगरपालिकाभित्रका स्थायी बासिन्दा, कानुनबमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यले पनि यो सेवा पाउनेछन्।
जलन उपचारका लागि प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको खर्च महानगरपालिकाले स्थापना गरेको कोषबाट व्यहोर्नेछ। कोषको रकम उपचार प्रयोजनका लागि मात्र प्रयोग गरिने महानगरपालिकाले जनाएको छ।
निःशुल्क उपचार सेवा सञ्चालनका लागि आवश्यक औजार, उपकरण तथा अन्य सामग्री खरिद गर्न महानगरपालिकाले कीर्तिपुर अस्पताललाई दुई करोड रुपैयाँ उपलब्ध गराएको छ। त्यसमध्ये एक करोड रुपैयाँ जलन उपचार कोषका लागि छुट्याइएको हो।
सामग्री तथा चेक हस्तान्तरणपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले आर्थिक अभावका कारण जलनमा परेका व्यक्तिले समयमै उपचार नपाउने अवस्था अन्त्य गर्न कोषको व्यवस्था गरिएको बताइन्।
‘कसैले जलन भोग्नु नपरोस्। भवितव्य पर्यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस्। बल्लबल्ल अस्पताल पुर्याएपछि बिरामी छोडेर पैसाको खोजी गर्न जानु नपरोस्। यसका लागि कोषको व्यवस्था गरेका हौँ,’ उनले भनिन्।
डंगोलले आगलागी नियन्त्रणका क्रममा अग्रपंक्तिमा रहेर काम गर्ने अग्नि नियन्त्रक, नगर प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी तथा महानगरवासीलाई जलनबाट बच्ने उपायबारे क्षमता विकास र प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिने पनि बताइन्।
‘जलनमा पर्नेलाई दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार प्रदान गर्नेछौँ,’ उनले भनिन्।
महानगरपालिकाले यसअघि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र कान्ति बाल अस्पताललगायत ठूला अस्पताललाई बिरामीको सहज उपचारका लागि आवश्यक पूर्वाधार, साधन तथा उपकरणमा सहयोग गर्दै आएको जनाएको छ।
महानगरपालिकाले उपलब्ध गराएको ५ सय एमएको डिजिटल एक्सरे मेसिनबाट दैनिक एक सय जनासम्मलाई सेवा दिन सकिएको भन्दै डंगोलले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार भइरहेको बताइन्।
स्वास्थ्य सेवामा नागरिकको पहुँच थप बढाउन काठमाडौं महानगरपालिकाले आफ्नै महानगर अस्पताल स्थापना गर्ने तयारीसमेत गरिरहेको जनाएको छ।
कीर्तिपुर अस्पतालका कार्यकारी अध्यक्ष डा. भरतकुमार प्रधानले महानगरपालिकाले गरेको सहयोग अस्पतालका लागि महत्वपूर्ण रहेको बताए।


प्रतिक्रिया