नवलपरासी-नवलपरासी (पूर्व)को गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा शनिबार बिहान दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हर्कपुरमा बिहान करिब ६ः५० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै बसमा सवार १८ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ। घाइतेमध्ये दुई जनाको पुरानो चितवन मेडिकल कलेज र सात जनाको नयाँ चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पुरानो चितवन मेडिकल कलेजमा उपचाररत घाइतेमा बारा कलैया–९ का ६० वर्षीय मोहन भैया साह, चितवन भरतपुर–२ की ३१ वर्षीया निशा तिवारी, उनका करिब ८ वर्षीय छोरा ऐट्रेन भट्ट, दाङका करिब ५५ वर्षीय निमलाल खड्का, उनकी श्रीमती करिब ५५ वर्षीया अमृता खड्का, रुपन्देही मायादेवी–६ का ५७ वर्षीय मनोज गुरुङ, उनकी ५१ वर्षीया श्रीमती हुमा गुरुङ, गैँडाकोट–५ का ५२ वर्षीय प्रेमबहादुर रानाभाट र गैँडाकोट–६ की करिब ४३ वर्षीया मिरा आचार्य रहेका छन्।
त्यस्तै, नयाँ चितवन मेडिकल कलेजमा उपचाररत घाइतेमा बस चालक चितवन भरतपुर–४ का ४७ वर्षीय सन्तोषबहादुर गुरुङ, गैँडाकोट–७ की १२ वर्षीया आत्रिया पौडेल, गैँडाकोट–१५ की ४० वर्षीया माधवा ज्ञवाली, गोरखाका ३५ वर्षीय शंकर बयलकोटी, गैँडाकोट–२ की ३८ वर्षीया सीता ज्ञवाली, उनकी ११ वर्षीया छोरी जस्विन ज्ञवाली र चितवन रत्ननगर–२ की १० वर्षीया दिभा रानाभाट रहेका छन्।
यसैगरी, लु.२ ख ६४५७ नम्बरको बसमा सवार कालिकोट तिलागुफा नगरपालिका–३ का करिब ३६ वर्षीय धनमान हमाल र गैँडाकोट–५ की करिब ६० वर्षीया लीला थापाको पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया