धादिङ-रसुवा क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङमार्फत सडक खोल्ने काम अघि बढाएको छ।
सडकको ठूलो भाग नदीतर्फ कटानमा परी भासिएकाले तत्काल पर्खाल निर्माण गरेर यातायात सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरिएको हो।
क्षतिग्रस्त सडकको भाग हटाएर नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले ब्लास्टिङको काम गरिरहेको सडक आयोजनाले जनाएको छ। ब्लास्टिङपछि सडकको सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण तथा यातायात सञ्चालनका लागि थप काम गरिनेछ।

भदौ १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि त्रिशूली नदीमा आएको तीव्र बहावले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान गरेको थियो। त्यसक्रममा धादिङको शीतल बजार, कृष्णभीर, परेवाभीरलगायतका क्षेत्रमा सडक भासिएपछि काठमाडौं–चितवन तथा काठमाडौं–पोखरा आवागमन प्रभावित भएको छ।
शीतल बजार क्षेत्रमा सडकको ठूलो हिस्सा नदीले कटान गरेकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन देखिएको प्राविधिकहरूको भनाइ छ। भौगोलिक जोखिम र सडकको क्षतिको अवस्थालाई ध्यानमा राख्दै नयाँ संरचना निर्माणका लागि ब्लास्टिङको विकल्प अघि बढाइएको हो।
पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने प्रमुख मार्ग हो। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन बाटोमै रोकिनुका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीसमेत प्रभावित भएको छ।
बाढीपछि राजमार्गका विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने समस्या देखिएको छ। सडक खुलाउन सडक विभाग, नेपाली सेना तथा निर्माणसम्बद्ध प्राविधिक टोलीले डोजरलगायतका उपकरण परिचालन गरिरहेका छन्। जोखिमयुक्त स्थानमा प्राविधिक अध्ययन गरी वैकल्पिक तथा अस्थायी मार्ग निर्माणको कामसमेत अघि बढाइएको छ।
आयोजनाका अनुसार राजमार्गलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउन नेपाली सेना, सडक विभाग र प्राविधिक टोलीबीच समन्वय भइरहेको छ। क्षतिग्रस्त सडकको तत्कालीन पुनःस्थापनासँगै दीर्घकालीन रूपमा सुरक्षित सडक संरचना निर्माण गर्ने योजना बनाइएको छ।


प्रतिक्रिया