काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडकखण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ। सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको छ। सडकको अवस्था परीक्षण गर्दै यातायातलाई थप सहज बनाइने उनले बताए।
सडक खुलाउन दुईवटा बुलडोजर प्रयोग गरी ग्रेड मिलाउने, सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम गरिएको थियो। यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गरिएको थियो।
महानिर्देशक जैसीका अनुसार सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी छ। भित्तातर्फ नाली निर्माणको कामसमेत बाँकी रहेकाले उक्त काम पूरा गरेपछि बिहीबारदेखि सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने तयारी छ।
गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। त्यसयता पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने ठूला तथा साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं आवागमन गर्दै आएका थिए।


प्रतिक्रिया