अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णभीरको ट्रयाक खुलेपछि २१ ठूला सवारीसाधन परीक्षणमा सञ्चालन

कृष्णभीरको ट्रयाक खुलेपछि २१ ठूला सवारीसाधन परीक्षणमा सञ्चालन


काठमाडौं-भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पहिरोले अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठूला सवारीसाधन परीक्षणका रूपमा सञ्चालन भएका छन्।

सडक विभागका अनुसार काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा तथा चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसहित केही हलुका सवारीसाधन निर्माणाधीन ट्रयाकबाट सफलतापूर्वक सञ्चालन गरिएको हो।

निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षणका लागि सवारीसाधन सञ्चालन गरिएको विभागले जनाएको छ। यद्यपि सडक स्तरोन्नति र सुरक्षासम्बन्धी बाँकी काम जारी रहेकाले कृष्णभीर खण्डबाट नियमित सवारी आवागमनका लागि सडक खुला नगरिएको विभागले स्पष्ट पारेको छ।

विभागले आगामी असोज १ गतेदेखि कृष्णभीर सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ। त्यसअघिसम्म कृष्णभीर खण्डबाट सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने भएकाले सम्बन्धित निकायले जारी गरेका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न विभागले आग्रह गरेको छ।

भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा नदी कटानबाट करिब १०० मिटर सडक बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडक विभागले करिब १५ दिनको प्रयासपछि आइतबार निर्माणाधीन ट्रयाक खोल्दै परीक्षणका रूपमा सवारी सञ्चालन गरेको हो।