अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिदाको दिन अनुमति बिना सरकारी गाडी चलाउँदा राज्यमन्त्री कुँवरको सवारी जरिवानामा

बिदाको दिन अनुमति बिना सरकारी गाडी चलाउँदा राज्यमन्त्री कुँवरको सवारी जरिवानामा


धनगढी-सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवर चढ्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ।

सार्वजनिक बिदाको दिन आवश्यक अनुमति नलिई सरकारी गाडी सञ्चालन गरिएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सुपप्र ०१–००१ झ ०३९७ नम्बरको सरकारी गाडीलाई कारबाही गरेको हो । उक्त समयमा राज्यमन्त्री कुँवर भने गाडीमा सवार नरहेको बताइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अन्तर्गत निषेधित समयमा सरकारी सवारीसाधन प्रयोग गरेको कसुरमा पहिलोपटक ५ सय रुपैयाँ जरिवाना गरिएको हो। सार्वजनिक बिदाका दिन राज्यमन्त्रीसमेत सवार नभएको अवस्थामा चालकले सरकारी गाडी चलाएको पाइएको प्रहरीको भनाइ छ।

कैलाली ट्राफिक प्रहरीले यसअघि पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरूका सवारीसाधनमाथि कारबाही गर्दै आएको छ। सरकारी निवास परिसरमा हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि जरिवाना गरिएको थियो। त्यस्तै, लापरबाहीपूर्वक सवारीसाधन चलाएको आरोपमा शीतल गिरीमाथि समेत कारबाही गरिएको थियो।