अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज राति कहाँ-कहाँ हुँदैछ भारी वर्षा ? यस्तो छ मौसमको पूर्वानुमान

आज राति कहाँ-कहाँ हुँदैछ भारी वर्षा ? यस्तो छ मौसमको पूर्वानुमान


काठमाडौँ-आज (सोमबार) राति देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको मौसम बुलेटिनअनुसार राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

यस्तै, कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

कति पानी परेपछि हल्का, मध्यम र भारी वर्षा ?

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा, १० देखि ५० मिलिमिटरभन्दा कम वर्षा भए मध्यम वर्षा र ५० देखि १०० मिलिमिटरभन्दा कम वर्षा भए भारी वर्षा भएको मानिन्छ।

त्यसैगरी २४ घण्टामा १०० देखि २०० मिलिमिटरभन्दा कम वर्षा भए धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।

‘एक–दुई स्थान’ र ‘केही स्थान’ भन्नाले के बुझिन्छ ?

मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ र ‘अधिकांश स्थान’ले वर्षा हुने सम्भावित भूभागको प्रतिशतलाई जनाउँछन्।

महाशाखाका अनुसार १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावना भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतसम्म भए ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतसम्म भए ‘केही स्थान’ र ५० देखि ८० प्रतिशतसम्म भए ‘धेरै स्थान’मा वर्षा हुने भनिन्छ।

त्यसैगरी ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’मा वर्षा हुने भनेर मौसम पूर्वानुमान गरिन्छ।