अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु


मुस्ताङ-मुस्ताङको जोमसोममा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रियस्तरको ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएको छ।

घरपझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनको सङ्घीय वातावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन्। उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देश वाचन गरेर सुनाइएको थियो।

जलवायु परिवर्तनका कारण स्थानीय तहले भोगिरहेका समस्या, त्यसको असर न्यूनीकरणका लागि भइरहेका प्रयास तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनमा जलवायु परिवर्तनसँग जुध्न स्थानीय तहको भूमिका, अनुभव र भावी कार्यदिशाबारे समेत छलफल हुनेछ।

सम्मेलनमा देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहभागी छन्। सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।

आगन्तुक अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था मिलाइएको छ। सम्मेलन व्यवस्थापनका लागि गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न सङ्घसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताइन्।

सम्मेलनमा सहभागीका लागि बिहानको खाजा, खाना र दिउँसोको खाजा सम्मेलनस्थलमै आमा समूहका टोलीले व्यवस्थापन गर्नेछन्। बेलुकाको खाना तथा बसोबासका लागि भने गाउँपालिकाले तोकेका होटलमा व्यवस्था गरिएको छ।

सम्मेलनलाई लक्षित गरी घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका सडक तथा बस्तीमा स्थानीय मौलिक कला र संस्कृति झल्कने ध्वजापताका राखेर सजावट गरिएको छ। मुख्य तथा भित्री सडकमा सडकबत्ती जडान गरी उज्यालो बनाइएको छ।

आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ भने खानेपानी, इन्टरनेट र विद्युत् सेवामा समस्या नहोस् भनेर आवश्यक पूर्वतयारी गरिएको गाउँपालिकाले जनाएको छ। सवारी पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पनि विशेष व्यवस्था मिलाइएको छ।

सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने उद्देश्यले २८ फिट अग्लो ‘पृथ्वी रोइरहेको’ आकृतिको बेलुनसमेत राखिएको छ। त्यस्तै, मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार तथा बजारीकरण गर्ने उद्देश्यले ५० भन्दा बढी प्रदर्शनी स्टल राखिएका छन्।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा स्थानीय तहको भूमिकासम्बन्धी घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ।