अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता


काठमाडौं-रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका अनुसार कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड क्षेत्र गएका विदेशी पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार बेपत्ता हुने विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिङ्ग खुल्न बाँकी छ। बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतका १८९ नागरिक रहेका छन्। त्यसैगरी, अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अस्ट्रेलियाका ३३, बेलायतका ३२, क्यानडाका ३० लगायत ३४ देशका नागरिक सम्पर्कविहीन भएका छन्।

विभागका अनुसार न्युजिल्यान्ड, रसिया, दक्षिण अफ्रिका, जापान, सिङ्गापुर, फ्रान्स, जर्मनी, बेल्जियम, स्वीडेन, इटली, स्विट्जरल्यान्ड, कोरिया, काजकिस्तान, फिलिपिन्स, भियतनाम, इस्टोनिया, लाटभिया लगायतका मुलुकका पर्यटक पनि बेपत्ता सूचीमा रहेका छन्।

बाढीका कारण १८८ नेपाली पर्यटक पनि बेपत्ता भएका छन्। तीमध्ये १६१ पुरुष र २७ महिला रहेका छन्। विभागका अनुसार बेपत्ता हुनेमा विदेशी पर्यटकका सहयोगी, भरिया, गाइड तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड यात्रामा गएका नेपाली नागरिकहरू समेत छन्।

सरकारले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको जनाएको छ। हालसम्म ३१० विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला रहेका छन्। यसैगरी सम्पर्कविहीनमध्ये १३ जना पुनः सम्पर्कमा आएको विभागले जनाएको छ।

यसबीच १ हजार ३९७ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ३९७ जनाको शव फेला परेको छ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार ३५५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४४० जना व्यक्तिहरूलाई राखिएको छ।

भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। दर्जनौं पुल बगेका, सडक सञ्जाल ध्वस्त भएका, जलविद्युत् आयोजना क्षतिग्रस्त बनेका तथा हजारौं परिवार विस्थापित भएका छन्। रसुवा–केरुङ व्यापारिक मार्ग, रसुवागढी–टिमुरे क्षेत्र, स्याफ्रुबेसी आसपासका सडक तथा पुलहरूमा व्यापक क्षति पुगेको सरकारी विवरणमा उल्लेख छ।

शिक्षा क्षेत्रमा पनि बाढीले गम्भीर असर पुर्‍याएको छ। पछिल्लो तथ्यांकअनुसार १८ वटा विद्यालय प्रभावित भएका छन्, जसमध्ये ११ विद्यालय पूर्ण रूपमा र सात विद्यालय आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यसका कारण ९ हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ।

सरकारले खोज, उद्धार, राहत तथा पुनर्स्थापना अभियानलाई प्राथमिकतामा राखेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाहरू परिचालन गरिएका छन्। प्रभावित जिल्लाहरू रसुवा र नुवाकोटलाई जनही १ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ राहत सहायता उपलब्ध गराइएको छ। साथै राहत संकलनका लागि एकद्वार प्रणाली लागू गरिएको छ र व्यवसाय पुनरुत्थानका लागि कर तथा ऋण सहुलियतसमेत घोषणा गरिएको छ।

हाल प्रभावित क्षेत्रमा अस्थायी पुल निर्माण, सडक सञ्चालन, राहत वितरण, विस्थापितको व्यवस्थापन तथा बेपत्ता व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सरकारी निकायहरूले जनाएका छन्। ड्रोन, हेलिकोप्टर तथा विशेष उद्धार टोली परिचालन गरी दुर्गम क्षेत्रमा राहत पुर्‍याउने काम भइरहेको छ।