अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषाबाट बालकको ११ दिनपछि सकुशल उद्वार, महिला पक्राउ

धनुषाबाट बालकको ११ दिनपछि सकुशल उद्वार, महिला पक्राउ


जनकपुरधाम– धनुषाको विदेह नगरपालिका–६ का १५ महिने बालक सिद्धान्त महतो ११ दिनपछि सकुशल उद्धार भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दै भदौ १८ गते घरको आँगनमा खेलिरहेका बेला बेपत्ता भएका कमलेश महतोका छोरा सिद्धान्त महतोलाई सकुशल उद्धार गरिएको जानकारी दिएको हो। बालकको खोजीका लागि ६० जना प्रहरी, तालिमप्राप्त कुकुर तथा प्राविधिक अनुसन्धान टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा धनुषाको कमला नगरपालिका–९ हथलेट्वाकी करिब ४१ वर्षीया पुनिता देवी पासवानले बालकलाई विभिन्न स्थानमा लुकाएर राखेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीको खोजी र घेराबन्दी तीव्र भएपछि पासवानले भदौ २९ गते दिउँसो बालकलाई आफ्नो घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर फरार हुन खोजेकी थिइन्। तत्कालै प्रहरीले बालकको उद्धार गरी स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाएको थियो। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भारततर्फ भाग्न खोजिरहेकी पासवानलाई सोही दिन धनुषाको महिनाथपुरस्थित दशगजा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।