अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा सांसद खरेलको माग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न रास्वपा सांसद खरेलको माग


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा प्रवक्ता जगदीश खरेलले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाम परिवर्तन गरी ‘प्रधानमन्त्री विपद् राहत कोष’ राख्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले बाढी, पहिरो र कटानजस्ता घटनालाई ‘दैवी प्रकोप’को संज्ञा दिनु उपयुक्त नभएको बताएका हुन्।

सांसद खरेलले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीलाई उदाहरण दिँदै यस्ता घटनालाई दैवी प्रकोप नभई प्राकृतिक विपत्ति वा मानव सिर्जित विपत्तिका रूपमा बुझ्नुपर्ने धारणा राखे।

प्रकोप दैवी रहेको पुष्टि २०७४ सालमा बनेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र ७६ मा बनेको नियमावलीले स्पष्ट गरेको उनले बताए ।

सांसद खरेलले नेपालमा भइरहेका अधिकांश बाढी, पहिरो र कटानका घटनाहरू प्राकृतिक कारणसँगै मानवीय गतिविधिबाट पनि प्रभावित हुने गरेको उल्लेख गरे। यस्ता घटनालाई दैवी प्रकोपको नाम दिँदा सम्बन्धित निकायहरू जिम्मेवारीबाट पन्छिन सक्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो।

‘२०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन, त्यसैले सम्माननीय प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई अनुरोध छ– यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर अब प्रधानमन्त्री विपत् राहत कोष भनेर कायम गरियोस् । अब दैवी प्रकोपको जमाना रहेन,’ उनले भने।

सांसद खरेलले प्राविधिक कमजोरी, वातावरणीय विनाश तथा अव्यवस्थित विकास निर्माणका कारण पनि विपद्का घटना निम्तिने गरेको बताउँदै राज्यले यस्ता जोखिमलाई प्राकृतिक तथा मानव सिर्जित विपत्तिका रूपमा स्वीकार गरी पूर्वतयारी, राहत तथा व्यवस्थापनका काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।