काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले साताको एक दिन आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाहमा असर परेको दाबी गर्दै पुरानै कार्यतालिका लागू गर्न आग्रह गरे। उनले आइतबारको बिदा कटौती गरी शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदाको व्यवस्था पुनः कायम गर्नुपर्ने बताए।
‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न विद्यालय वा शिक्षा क्षेत्रलाई नै,’ सांसद भाटले भने।
उनले आइतबारको बिदाका कारण आम नागरिकले सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको, विकास निर्माणका काम प्रभावित भएको तथा प्रशासनिक कार्यसम्पादनमा ढिलाइ भएको उल्लेख गरे।
सांसद भाटले बिदाको वर्तमान व्यवस्थाबाट कसैलाई पनि उल्लेखनीय फाइदा नभएको दाबी गर्दै जनभावनाको कदर गरी तत्काल आइतबारको बिदा खारेज गरेर पुरानै व्यवस्था कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।


प्रतिक्रिया