काठमाडौं–सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने काममा सरकार चुकेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बोहराले सरकारी तथ्याङ्कअनुसार रसुवामा अझै ५ हजार १३० जना बेपत्ता रहेको उल्लेख गर्दै प्रभावित नागरिकले राज्यको अनुभूति गर्न नसकेको बताए। उनले आफ्नो जिल्ला कञ्चनपुरमा २६ जना तथा निर्वाचन क्षेत्र कञ्चनपुर–२ मा मात्रै १४ जना अझै बेपत्ता रहेको जानकारी दिए। पछिल्ला केही दिन आफू प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेटघाट गरेको बताउँदै उनले सरकारको राहत तथा उद्धार प्रयास अपेक्षाअनुसार नदेखिएको टिप्पणी गरे।
सांसद बोहराले प्रहरी र नेपाली सेनाका कर्मचारी बेपत्ता भएमा सम्बन्धित संस्थाले परिवारको जिम्मेवारी लिने आश्वासन दिएको भए पनि सर्वसाधारणका परिवार भने राज्यको सहयोगबाट वञ्चित भएको बताए। उनका अनुसार प्रशासन, स्थानीय तह र संघीय सरकारबीच जिम्मेवारी एकअर्कामाथि थोपर्ने प्रवृत्ति देखिएको छ। ‘प्रशासनले पालिका पुगेको होला भन्छ, पालिकाले सरकार आउँछ भन्छ, तर पीडितको घरमा कोही पुगेको छैन,’ सांसद बोहराले संसद्मा भने।
उदाहरणका रूपमा सांसद बोहराले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरकी सुनिता डगौराको अवस्था प्रस्तुत गरे। दुवै मिर्गौला फेल भएकी सुनिताका छोरा अभिषेक डगौरा लाङटाङ हाइड्रोपावर क्षेत्रमा आएको बाढीमा बेपत्ता रहेको उल्लेख गर्दै उनले परिवार औषधि, खाद्यान्न र दैनिक जीवनयापनको समस्यासँग जुधिरहेको बताए। यो एउटा प्रतिनिधि घटना मात्र भएको र अधिकांश पीडित परिवारको अवस्था यस्तै रहेको उनको भनाइ थियो।
सत्तारुढ दलकै सांसदबाट आएको यो आलोचनाले भोटेकोशी बाढीपछि उद्धार, खोजी, राहत वितरण र प्रभावित परिवारको व्यवस्थापनमा सरकारमाथि थप प्रश्न उठाएको छ। सांसद बोहराले बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउन, पीडित परिवारको तत्काल पहिचान गरी राहत उपलब्ध गराउन तथा राज्यको उपस्थितिलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया