काठमाडौं–नेकपा एमाले संसदीय दलकी उपनेता तथा प्रतिनिधिसभा सदस्य पद्मा अर्यालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सरकार विभिन्न पक्षमा चुकेको आरोप लगाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले विपद् व्यवस्थापनमा सरकारको समन्वय क्षमता कमजोर देखिएको बताइन्। बाढी आएलगत्तै सरकारले सार्वजनिक आह्वान, आवश्यक कूटनीतिक पहल तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सक्रिय भूमिका खेल्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त प्रयास नभएको उनको भनाइ थियो। विद्यालय, क्याम्पस तथा विभिन्न क्षेत्रका इन्जिनियर र विज्ञहरूसँग समन्वय गरी जनशक्ति परिचालन गर्न सकिने अवस्था हुँदाहुँदै सरकारले त्यसको प्रभावकारी उपयोग गर्न नसकेको उनले दाबी गरिन्।
अर्यालले विपद्पछि राहत, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन ‘सर्वदलीय विशेष संसदीय समिति’ गठन गर्न माग गरिन्। साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप अधिकार सम्पन्न बनाउँदै ‘विशेष पुनर्निर्माण प्राधिकरण’ गठन गर्नुपर्ने प्रस्ताव पनि उनले राखिन्। त्रिशूली-भोटेकोशी क्षेत्रको पुनर्निर्माणका लागि सुरक्षित बस्ती, सडक, पुल, जलविद्युत् र पर्यटनलाई समेट्ने गरी दीर्घकालीन गुरुयोजना बनाउनुपर्ने तथा नुवाकोटको विदुर उपत्यकामा विशेष आर्थिक क्षेत्रसहित नयाँ सहर विकास गरी बाढीपीडितलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने सुझाव समेत उनले दिइन्।
सांसद अर्यालले सरकारलाई विपद्को समयमा ‘म एक्लै काफी छु’ भन्ने सोच त्याग्न आग्रह गरिन्। ‘यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्। देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन,’ उनले भनिन्। विपद् राजनीतिक स्वार्थभन्दा माथिको विषय भएकाले राजनीतिक दल, तीन तहका सरकार, नागरिक समाज, विज्ञ तथा अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। ‘विपद् राजनीतिक स्वार्थभन्दा माथिको विषय हो, यसमा सबै पक्षको समन्वय र सहकार्य अनिवार्य छ,’ सांसद अर्यालले भनिन् ।
सरकारले केही काम गरे पनि उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालन गर्न नसक्दा धेरै अवसर खेर गएको उनले टिप्पणी गरिन्। बाढीबाट विस्थापित परिवारको राहत, पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनमा सरकारले अपेक्षित काम गर्न नसकेको आरोप लगाउँदै उनले सरकारलाई राम्रो काममा एमालेको साथ रहने बताइन्।
अर्यालले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा सञ्चालित केही आईडीबाट नागरिकसँग विवाद र गालीगलौज भइरहेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिन्। ‘सामाजिक सञ्जालका लागि रिल मात्र बनाएर बस्ने हो ?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्। बजारमा देखिएको ग्यासको कृत्रिम अभाव नियन्त्रण र वितरण व्यवस्थापनमा पनि सरकार असफल भएको उनको आरोप थियो।
जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको वैज्ञानिक अभिलेख तयार गरी अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’को मुद्दा उठाउन र आवश्यक सहयोग जुटाउन समेत उनले प्रधानमन्त्रीलाई सुझाव दिइन्।


प्रतिक्रिया