काठमाडौँ– विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभाको बैठकमा सदनको गरिमा र मर्यादा उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री गुरुङ सभामुखको आसन र बोलिरहेका सांसदको बीचबाट हिँडेको भन्दै महरले आपत्ति जनाएका हुन्।
महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको अगाडिबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था रहेको स्मरण गराए।
‘नियमावलीमा सभामुखको आसन तथा बोलिरहेको सदस्यको अगाडिबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था छ। तर, यसको पटक-पटक उल्लङ्घन भइरहेको छ,’ उनले भने।
महरले प्रधानमन्त्री र गृहमन्त्रीबाट समेत यस्तो कार्य दोहोरिएको दाबी गर्दै सदनको नियम सबैले पालना गर्नुपर्ने बताए। ‘कहिले प्रधानमन्त्री त कहिले गृहमन्त्री स्वयं बोलिरहेको सदस्यको अगाडिबाट हिँड्ने गर्नुभएको छ। यो सदनको गरिमा र मर्यादाविपरीत छ,’ उनले भने।
उनले सदनको गरिमा र मर्यादा जोगाउने जिम्मेवारी प्रतिपक्षको मात्रै नभएको भन्दै सत्तापक्ष र सरकारका जिम्मेवार व्यक्तिले पनि प्रतिनिधिसभाको नियम पालना गर्नुपर्ने बताए।
सभाभित्र भइरहेको यस्तो कार्यशैली र व्यवहारले सदनको मर्यादामा आँच पुगेको जिकिर गर्दै महरले यस्ता गतिविधि रोक्न सभामुखमार्फत रुलिङ गर्न माग गरेका छन्।
प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था छ। यही व्यवस्थाको पटक-पटक उल्लङ्घन भएको भन्दै एमाले प्रमुख सचेतक महरले नियमापत्ति जनाएका हुन्।


प्रतिक्रिया