काठमाडौं-नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद बरालले नागरिकले विभिन्न समस्याबाट सास्ती पाइरहेको भन्दै सरकारले तत्काल सुधारको बाटो समात्नुपर्ने बताइन्।
सांसद बरालले भनिन्, ‘जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ। सरकारले तुरुन्तै सुधारको बाटो समात्नु पर्छ।’
सरकारी निकायको लापरवाही र गैरजिम्मेवारपनका कारण नागरिकले दुःख पाउनुपरेको उनको भनाइ थियो। उनले विशेषगरी तराईका सडकको दुरवस्था, कालाबजारी र सुशासनको अभावलाई लिएर सरकारको आलोचना गरिन्।
सांसद बरालले कर्णाली र तराईका विभिन्न स्थानमा सडक सञ्जालको अवस्था नाजुक रहेको बताइन्। सुर्खेत वा जुम्लाबाट निर्माण सामग्री ल्याएर सडक बनाउनेजस्ता अवैज्ञानिक कार्यले स्थानीय नागरिकले थप सास्ती भोग्नुपरेको उनको भनाइ थियो।
कालीकोट र दैलेखको सीमामा पर्ने सडक सञ्जालमा आवश्यक संरचना निर्माण गर्नुपर्नेमा भएका संरचना नै भत्काउने काम भइरहेको भन्दै उनले तत्काल सडक विभाग स्थापना गर्न सरकारसँग माग गरिन्।
त्यस्तै, विद्युतका नाङ्गा तारका कारण नागरिकको ज्यान जोखिममा परेको र विभिन्न स्थानमा विद्युतका पोल ढलेको अवस्थामा समेत सरकार मौन बसेको भन्दै उनले असन्तुष्टि जनाइन्।
‘सरकार आधुनिक जमानाको कुरा गर्छ, हामीले कहाँ छौँ भनेर ऐना हेर्ने हो कि ?’ उनले प्रश्न गरिन्।


प्रतिक्रिया