मकवानपुर-मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौंबाट हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०७२० नम्बरको भाडाको विद्युतीय गाडी मंगलबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दिउँसो करिब २ बजे गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको थियो। दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।
दुर्घटनामा दुई पुरुष र दुई महिला घाइते भएका छन्। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित आठ जना सवार थिए।
मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया