अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरो र बाढीले कहाँ-कहाँ अवरुद्ध छन् सडक ?

पहिरो र बाढीले कहाँ-कहाँ अवरुद्ध छन् सडक ?


काठमाडौँ-बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज भदौ ३१ गते बिहान ६:०० बजेसम्मको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन्।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसी चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि भदौ १६ गतेदेखि लागू हुने गरी विशेष नियम बनाइएको छ। अर्को सूचना नभएसम्म साँझ १९:०० बजेदेखि बिहान ०५:०० बजेसम्म १० टनसम्मका मालवाहक सवारी साधनहरू सञ्चालन हुनेछन्। बिहान ०४:०० बजेदेखि साँझ १८:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी साधनहरू सुचारु गरिने जनाइएको छ।

रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गते बिहान १०:३० बजेदेखि बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको टोखा-छहरे सडक खण्डअन्तर्गत शिवपुरी गाउँपालिका-८ घट्टेखोलामा सम्भावित बाढी र पहिरोका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। भदौ ०१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि राति २२:०० बजेदेखि बिहान ०५:०० बजेसम्म गाडी चलाउन पाइने छैन।

नुवाकोटकै पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर नगरपालिका-१० सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण बाटो पूर्ण रूपमा अवरुद्ध रहेको छ। धादिङको पृथ्वीलोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका-०७ कृष्ण भिरमा भदौ १४ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा ठप्प छ। पृथ्वीलोकमार्गकै बेनिघाट रोराङ गाउँपालिका-१० ज्वाङखोलामा भदौ १६ गतेदेखि र शीतलबजारमा भदौ २६ गतेदेखि पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको छ।

चितवनको नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा भदौ २२ गतेदेखि सडक मर्मतको काम भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी रूपमा सवारी साधन सञ्चालन गराइएको छ।

कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका-६ खरीखेतमा भदौ २९ गतेदेखि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।