काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक सुरु भएको छ।
बुधबार बिहान साढे ११ बजेपछि सुरु भएको बैठकमा भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।
भदौ १० गते भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। त्यसपछि भदौ ११ गते बसेको सर्वदलीय बैठकले बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा व्यवस्थापनका लागि १० बुँदे सङ्कल्प गरेको थियो।
भदौ १५ गते बसेको दोस्रो तहको सर्वदलीय बैठकले उक्त १० बुँदे सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयलाई थप प्रभावकारी रूपमा अघि बढाउने तथा दीर्घकालीन पुनर्निर्माण र पुनर्स्थापनाका लागि राजनीतिक संयन्त्र गठन गर्ने विषयमा आजको बैठक केन्द्रित रहेको बताइएको छ।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य, सहमहामन्त्री पुरुषोत्तम यादव, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दल नेता ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलगायत नेताहरू सहभागी छन्।
बैठक अहिले सिंहदरबारमा जारी छ।


प्रतिक्रिया