अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्‍को आडमा महँगी र कालोबजारी बढ्दा सरकार मूकदर्शक बन्यो: सांसद केसी

विपद्‍को आडमा महँगी र कालोबजारी बढ्दा सरकार मूकदर्शक बन्यो: सांसद केसी


काठमाडौं-नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा बाढीपछिको विपद् व्यवस्थापन, राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वदलीय उच्चस्तरीय समिति गठन गर्न सरकारसँग माग गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले रसुवा बाढीपछि सडक सञ्जाल अवरुद्ध हुँदा प्रभावित क्षेत्रका नागरिक थप समस्यामा परेको उल्लेख गर्दै सडक तथा यातायात पूर्वाधार तत्काल सञ्चालनमा ल्याउन आग्रह गरे। उनले बेत्रावतीदेखि गल्छीसम्म पाँचवटा बेलिब्रिज तत्काल निर्माण तथा जडान गर्न आवश्यक रहेको बताए।

सांसद केसीले विपद्को आडमा बजारमा अत्यधिक महँगी, कालोबजारी र ग्यास अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। कानूनतः २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने व्यवस्था भए पनि त्यो कागजमै सीमित भएको र अनुगमन गर्ने निकायहरू मूकदर्शक बनेको उनको आरोप थियो।

राष्ट्रिय शोक र विपद्को समयमा जनताको दैनिक जीवन सहज बनाउन तथा चूलो बल्ने अवस्था सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उनले बजारमा युद्धस्तरमा अनुगमन सञ्चालन गर्न, कालोबजारी गर्नेहरूलाई कडा कारबाही गर्न र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारसँग माग गरे। अन्यथा जनतामा असन्तुष्टि बढ्दै जाने उनको चेतावनी थियो।

साथै, बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन राजनीतिक दल, सरकार तथा सरोकारवाला निकायको सहभागितामा सर्वदलीय उच्चस्तरीय समिति गठन गरी समन्वयात्मक ढंगले अघि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए।