काठमाडौं-नेकपा एमालेका नेता तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्वसभापति ठाकुर गैरेले सांसदहरूको व्यस्तताका कारण समितिको काम प्रभावकारी रूपमा सञ्चालन गर्न व्यावहारिक चुनौती रहेको बताएका छन्।
बुधबार समितिको बैठकमा बोल्दै गैरेले सांसदहरूले निर्वाचन क्षेत्र, मन्त्रालय तथा अन्य जिम्मेवारीका कारण समितिलाई पर्याप्त समय दिन कठिन हुने अवस्था रहेको उल्लेख गरे। उनले समितिको प्रभावकारिता सदस्यहरूको सक्रियता, लगनशीलता र समय व्यवस्थापनमा निर्भर रहने बताए।
‘समितिका सदस्यहरूका आफ्नै निर्वाचन क्षेत्र, मन्त्रालय तथा अन्य जिम्मेवारी छन्। त्यसैले समितिलाई पर्याप्त समय दिन व्यावहारिक कठिनाइ हुन सक्छ,’ उनले भने, ‘समितिको प्रभावकारिता सदस्यहरूको सक्रियता, लगनशीलता र समय व्यवस्थापनमा पनि निर्भर रहन्छ।’
गैरेले निर्वाचन क्षेत्रमा जाँदा स्थानीय तहबाट विकास निर्माणलगायत विभिन्न अपेक्षा आउने र काठमाडौंमा रहँदा संसद् तथा समितिमा नीति निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहने उल्लेख गर्दै यी दुवै जिम्मेवारीलाई सन्तुलित रूपमा व्यवस्थापन गर्नुपर्ने बताए। समितिका सदस्यहरूको सक्रिय सहभागिताले समितिले प्रभावकारी काम गर्न सक्नेमा आफू आशावादी रहेको उनको भनाइ थियो।
उनले समितिको कामलाई अन्तर्राष्ट्रिय तहका विषयहरूसँग पनि जोड्न सकिने धारणा राखे। विशेषगरी जलवायु परिवर्तन र जलवायु न्यायका विषयमा अन्तर्राष्ट्रिय फोरममा भइरहेका छलफल, अभ्यास र अनुभवलाई समितिको काममा उपयोग गर्न सकिने उनले बताए।
सांसद अञ्जनी श्रेष्ठ अन्तर्राष्ट्रिय जलवायुसम्बन्धी फोरममा निर्वाचित भएको उल्लेख गर्दै गैरेले आवश्यकताअनुसार जलवायु परिवर्तनलगायतका विषयमा उपसमिति गठन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समन्वय, अध्ययन र अनुसन्धानलाई अघि बढाउन सकिने सुझाव दिए।
जलवायु संसद्का अन्तर्राष्ट्रिय फोरम तथा अन्य कार्यक्रमबाट प्राप्त अनुभव र ज्ञानलाई समितिको कार्यसम्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले जलवायु न्यायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा भइरहेका बहससँग समन्वय गरी समितिको अन्तर्राष्ट्रिय सम्बन्धसमेत विस्तार गर्न सकिने बताए।


प्रतिक्रिया