विराटनगर-झापाको बिर्तामोडमा जेनजी आन्दोलनका क्रममा घाइते भएका विवेक दनुवारले सरकारसँग विभिन्न माग राख्दै आमरण अनसन सुरु गरेका छन्।
अर्जुनधारा नगरपालिका-६ का दनुवारले बिर्तामोडमा बुधबारदेखि आमरण अनसन सुरु गरेका हुन्। जेनजी आन्दोलनका क्रममा पेटमा गोली लागेर गम्भीर घाइते भएका उनी घाइतेहरूको माग सम्बोधन गर्नुपर्ने भन्दै अनसनमा बसेका हुन्। उनको समर्थनमा आन्दोलनका क्रममा घाइते भएका अन्य व्यक्तिहरू पनि अनसनमा सहभागी भएका छन्।
दनुवारले आन्दोलनका क्रममा घाइते भएकाहरूलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने तथा हालसम्म उपचारमा लागेको सम्पूर्ण खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन्। उनले घाइतेहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँदै उनीहरूको जीवनयापनको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।
त्यस्तै, घाइते तथा सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायातमा घाइतेहरूलाई विशेष छुट दिनुपर्ने र घाइते तथा सहिद परिवारका समस्या सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग अघि सारिएको छ।
जेनजी आन्दोलनका घाइतेहरूले मंगलबार साँझ पनि सरकारको आलोचना गर्दै माग सम्बोधनका लागि खबरदारी गरेका थिए। उनीहरूले जेनजी आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बहुमतको सरकार बनाउनका लागि मात्रै प्रयोग गरिएको जस्तो भएको टिप्पणी गरेका थिए।
झापामा जेनजी आन्दोलनका क्रममा १ सयभन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ। तीमध्ये हालसम्म ४३ जनाले मात्रै घाइते परिचयपत्र पाएको दाबी गरिएको छ। घाइतेहरूले राज्यले आफूहरूको उपचार, क्षतिपूर्ति, शिक्षा तथा जीवनयापनसम्बन्धी माग तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्।



प्रतिक्रिया