काठमाडौं-सरकारले धितोपत्र बजारमा सूचीकृत निकायको शेयर निसर्गबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ मुख्य निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
निर्णयअनुसार धितोपत्र बोर्डमा सूचीकृत निकायको हित निसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको ७.५ प्रतिशत अग्रिम कर घटाएर ३.५ प्रतिशत कायम गरिएको छ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्ने १० प्रतिशत अग्रिम कर घटाएर ५ प्रतिशत कायम गरिएको छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू फणिन्द्र गौतम, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको छ। प्रशासन सेवातर्फका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बिमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाही अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने सम्बन्धी आदेश जारी गर्ने निर्णय पनि भएको छ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको ‘सक्रिय राहत कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
प्रवक्ता पोखरेलका अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकबाट यी ६ निर्णयलाई मुख्य निर्णयका रूपमा सार्वजनिक गरिएको हो।
यस्ता छन् निर्णयहरू–
– सरकारी निर्णय प्रक्रिया, सरलीकरण, तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली-२०८३ स्वीकृत गर्ने ।
– नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्र, विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.५ प्रतिशत र ३ सय ६५ वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत अग्रिम कर कायम गर्ने ।
– नेपाल न्याय सेवा, न्याय समूह राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू श्री खगेन्द्र कट्टेल, श्री रामप्रसाद भट्टराई र श्री बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने ।
– साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा, क्षतिपूर्ती रकमसम्बन्धी कानुन कारबाहीका लागि साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिइ बीमा, क्षतिपूर्तीको प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने ।
– चक्रिय राहत कोष सञ्चालन कार्यविधि २०८३ स्वीकृत गर्ने ।
– नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने ।


प्रतिक्रिया