अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन दिन नदीमा जलसतह बढ्ने पूर्वानुमान, साना नदीमा आकस्मिक बाढीको जोखिम

तीन दिन नदीमा जलसतह बढ्ने पूर्वानुमान, साना नदीमा आकस्मिक बाढीको जोखिम


काठमाडौँ-बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।

महाशाखाले आगामी तीन दिनका लागि नदीहरूको जलसतह र बाढीको अवस्थाबारे पूर्वानुमान सार्वजनिक गर्दै असोज १, २ र ३ गते कोशी जलाधार क्षेत्रका चतरास्थित सप्तकोशी, त्रिवेणीको तमोर, सिम्लेको अरुण र खुवाबजारको दुधकोशी नदीमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ । बुस्तीको तामाकोशीमा आज सामान्य वृद्धि भए पनि असोज २ र ३ गते जलसतह उल्लेख्य बढ्ने सम्भावना देखिएको छ। हम्पचुवारको सुनकोशी नदीमा पनि तीनै दिन जलसतह उल्लेख्य रूपमा बढ्ने बताइएको छ ।

नारायणी जलाधारतर्फ देवघाटका नारायणी, बेत्रावतीका त्रिशुली, आरूघाटका बुढीगण्डकी, विमलनगरका मर्स्याङ्दी, दमैलीका सेती र कुमालगाउँका कालिगण्डकी नदीमा असोज १ देखि ३ गतेसम्म नै जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। यस्तै कर्णाली जलाधारका चिसापानी र असाराघाटका कर्णाली, समजिघाटका भेरी तथा दिपालयका पश्चिम सेती नदीमा आगामी तीन दिनसम्म जलस्तर सामान्य रूपमा बढ्नेछ। पारिगाउँस्थित महाकाली नदीमा भने तीनै दिन जलस्तर उल्लेख्य रूपमा बढ्ने बताइएको छ।

अन्य नदीहरूतर्फ मैनाचुलीको कन्काई र वेलसोतको कमला नदीमा आगामी तीन दिन सामान्य रूपमा बहाव बढ्नेछ। पधेशदोभानको बागमती र रजैयाको पूर्वी राप्ती नदीमा असोज १ गते उल्लेख्य रूपमा जलसतह बढे पनि असोज २ र ३ गते सामान्य रूपमा मात्र वृद्धि हुने बताइएको छ । कुसुमको पश्चिम राप्ती र चेपाङको बबई नदीमा आगामी तीन दिनसम्म बहाव सामान्य रूपमा बढ्ने स्थिति छ।

स-साना नदीहरूको सन्दर्भमा बिहीबार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा, अछाम र आसपासका जिल्ला भई बहने खोलाहरूमा सतर्कता अपनाउनुपर्ने देखिएको छ । यी क्षेत्रका साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको बुलेटिनमा भनिएको छ।

असोज २ गते सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ । त्यस्तै असोज ३ गते कोशी र मधेश प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको हुनाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई पूर्वसावधानी अपनाउन बुलेटिनमार्फत आग्रह गरिएको छ ।