काठमाडौँ-देशभर ग्यासको चरम अभाव हुँदा सर्वसाधारणले दैनिक जीवन सञ्चालन गर्नसमेत कठिनाइ भोगिरहेका बेला नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद बरालले ग्यास अभावका कारण नागरिकहरू भोकभोकै बस्न बाध्य भएको भन्दै सरकार जनताको पीडाप्रति संवेदनशील नभएको आरोप लगाइन्।
सांसद बरालले अहिले नागरिकहरू बिहानैदेखि ग्यासको खोजीमा भौंतारिनुपरेको, बजारमा अत्यावश्यक वस्तुको मूल्य बढिरहेको र सर्वसाधारणको दैनिकी थप कष्टकर बन्दै गएको उल्लेख गर्दै सरकारसँग स्पष्ट जवाफ मागिन्। ‘सरकारलाई जनताको अवस्थाबारे चिन्ता छ कि छैन ? जनता भोकमरीमा पर्न थाले,’ सांसद बरालले सदनमा प्रश्न गर्दै भनिन्, ‘जनताले ग्यास किन पाइरहेका छैनन् ? बजारमा मूल्यवृद्धि किन भइरहेको छ ? यसको जवाफ सरकारले दिनुपर्छ।’
सरकारले विगतको नैतिकताको प्रश्न उठाउने तर वर्तमान संकट समाधानमा प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी गर्दै सांसद बरालले जनताको दुःखप्रति जिम्मेवार बन्न आग्रह गरिन्। ‘हिजोको सरकारको नैतिकता खोज्नेहरू आज किन चुप छन् ? नैतिकता भनेको जनता मर्नु हो ?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि कटाक्ष गरिन्।

सांसद बरालले ग्यास अभावले नागरिकको दैनिकी नै प्रभावित बनेको उल्लेख गर्दै तत्काल समस्या समाधानका लागि पहल गर्न सभामुखमार्फत सरकारलाई निर्देशन दिन माग गरिन्। ‘जनताका समस्या किन समाधान हुँदैनन् ? ग्यासको समस्या किन छ ? यो विषयमा सरकारले तत्काल सदनलाई जानकारी गराउनुपर्छ,’ सांसद बरालले भनिन्।
साथै, सांसद बरालले एमालेमा आबद्ध व्यक्तिले ग्यास लुकाएको भनेर अफवाह फैलाउनेलाई कारबाहीको माग गरेकी छन्।उनले ग्यास लुकाएको हो भने एमालेलाई कारबाही गर्नुपर्ने र अफवाह फैलाउनेलाई कारबाहीको माग गरिन्। ‘बजारमा एमालेले ग्यास लुकाएर ग्यास पाइएन भनेर अफवाह फैलाउने या लेखाउने सरकार यहाँको माननीयज्यू को हो ? कि एमालेले ग्यास लुकाएको हो भने एमालेलाई कारबाही होस् । होइन भने अफवाह फैलाउनेलाई र सम्बन्धित निकायलाई कारबाहीको माग गर्दछु,’ उनले भनिन् ।
नागरिकहरू दिनप्रतिदिन निराश र पीडित बन्दै गएको उल्लेख गर्दै बरालले प्रधानमन्त्री बालेन्द्र शाहलाई गम्भीर बन्न आग्रह गरिन्। ग्याससहित आधारभूत उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गरी जनताको दैनिक कष्ट कम गर्न तत्काल प्रभावकारी कदम चाल्न उनले सरकारको ध्यानाकर्षण गराइन्।



प्रतिक्रिया