अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘द ग्रेजोन’ रिपोर्टबारे सरकार र नाम जोडिएकाले जवाफ दिनुपर्छ: एमाले सांसद पोखरेल

‘द ग्रेजोन’ रिपोर्टबारे सरकार र नाम जोडिएकाले जवाफ दिनुपर्छ: एमाले सांसद पोखरेल


काठमाडौं-नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले अमेरिकी अनलाइन पत्रिका द ग्रेजोनले सार्वजनिक गरेको रिपोर्टबारे सरकार तथा नाम जोडिएका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पोखरेलले भदौ २३ र २४ गतेका घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित सामग्री गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै त्यस सम्बन्धमा सरकारले संसदलाई स्पष्ट पार्नुपर्ने माग गरे।

सांसद पोखरेलले सिंहदरबारसहित सरकारी, निजी, व्यवसायिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी भएका घटनामा तालिमप्राप्त समूहको संलग्नता तथा रासायनिक पदार्थ प्रयोग भएको विषयमा यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत समाचार प्रकाशित गरेको उल्लेख गरे। यस्ता घटनासँग सम्बन्धित विषयमा विदेशी सञ्चारमाध्यममा आएका दाबीहरूबारे सरकारको धारणा आवश्यक रहेको उनको भनाइ थियो।

सांसद पोखरेलले द ग्रेजोन ले प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गरेको भन्दै त्यसबारे स्पष्ट जवाफ आउनुपर्ने बताए।

उनले भने, ‘सिंहदरबारसहित सरकारी, निजी, व्यवसायिक तथा राजनीतिक दलका कार्यालयमा आगजनी गर्दा तालिमप्राप्त समूहको संलग्नता र रासायनिक सोडियम प्रयोग भएको विषय यसअघि नै न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरिसकेको छ। भदौ २३ र २४ का घटनाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिका अनलाइन पत्रिका द ग्रेजोनले प्रकाशित गरेका तथ्यहरु उपर कसले जवाफ दिने हो ?’

उनले उक्त विषयमा प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित राजनीतिक नेतृत्वले संसद र जनतासामु आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत गरे। ‘प्रधानमन्त्री वालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरुको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी द ग्रेजोनले गरेको छ। सभामुख महोदय यसको जवाफ चाहिन्छ। प्रश्नबाट कोही पनि भाग्न पाउँदैन। सरकार र नाम जोडिएकाहरुले जवाफ दिनुपर्छ’ उनले भने।