रसुवा-भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको अडिट-३ सुरुङबाट ६ वटा शव फेला परेका छन्।
आयोजनाका प्रतिनिधि, सुरक्षाकर्मी तथा उद्धारकर्मी सम्मिलित संयुक्त टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो। शवहरू सुरुङभित्र हिलो र अवशेषले पुरिएको अवस्थामा रहेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो।
उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी जाली काट्दै शवहरू सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ। सुरुङभित्र अझै हिलोले ढाकिएको अवस्थामा थप शव हुन सक्ने आशंका गरिएका आकृतिहरू समेत देखिएकाले त्यस क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजना, सडक तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनासँग सम्बन्धित केही व्यक्ति सम्पर्कविहीन भएका थिए। उनीहरूको खोजीका लागि सुरक्षाकर्मी, उद्धार टोली र आयोजनाका प्राविधिकहरू निरन्तर परिचालित छन्।



प्रतिक्रिया