अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान दिवसका लागि कोशी प्रदेश तयारी पूरा, शहीद रंगशालामा भव्य समारोह हुने

संविधान दिवसका लागि कोशी प्रदेश तयारी पूरा, शहीद रंगशालामा भव्य समारोह हुने


विराटनगर-कोशी प्रदेश सरकारले भोलि असोज ३ गते भब्यताका मनाउने संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार असोज ३ गते विराटनगरस्थित शहीद रंगशालामा आयोजना हुने मूल समारोहका सबै तयारी सम्पन्न भएका छन्।

संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ६ः३० बजे आदर्श माध्यमिक विद्यालय विराटनगर अगाडिबाट प्रभातफेरी कार्यक्रम सुरु हुनेछ। त्यसपछि शहीद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना गरिनेछ। समारोहको मुख्य आकर्षण विभिन्न १६ जातजाति तथा भाषाभाषी समुदायका सांस्कृतिक झाँकीहरूको प्रतियोगिता रहने जनाइएको छ। साथै खेलकौशल प्रदर्शन, राष्ट्रिय गीत प्रस्तुति तथा पुरस्कार वितरण कार्यक्रमसमेत गरिनेछ।

संविधान दिवसको अवसरमा असोज २ गते कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस तथा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री कार्कीले गरेका थिए। यस्तै सामाजिक विकास मन्त्रालयले ‘जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका’ विषयक खुला निबन्ध प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गाप्रसाद नेपाल प्रथम, काठमाडौंकी रविना महर्जन द्वितीय तथा धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन्। ओखलढुंगाकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले सान्त्वना स्थान हासिल गरेका छन्। संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगितासमेत आयोजना गरिने कार्यक्रम रहेको छ।

यसैबीच असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान कार्यक्रम तथा पर्यटन, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने भएको छ। संविधान दिवसका अवसरमा सञ्चालन हुने सम्पूर्ण कार्यक्रमको समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको जनाएको छ।